बाली उठाउन भारतीयद्वारा आक्रमण

बाली उठाउन भारतीयद्वारा आक्रमण

झापा : नेपालीले भारत र भारतीयले नेपालमा जग्गा भाडामा लिएर वर्षौंदेखि खेतीपाती गर्दै आएका छन्। यति बेला मकै पाकेर घरमा भित्र्याउने बेला भएको छ। तर, कोरोनाका कारण दुवै देशका नागरिक आउजाउ गर्न प्रतिबन्ध छ। झापाको १४४.२ किलोमिटर भूभागमा सयौं सुरक्षाकर्मी खटिएका छन्।

नेपालतिरका सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि भारतीयहरू आक्रमणमा उत्रिन थालेका छन्। सीमा क्षेत्रमा खेती गर्नेहरूका कारण चुनौती थपिएको सुरक्षाकर्मीहरू बताउँछन्। उनीहरूले पाकेको बाली थन्क्याउन नपाएको झाेंकमा नेपालतर्फ बसेका सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताए।

दक्षिणी सीमा क्षेत्रमा सयौं बिघा जग्गामा भारतीयले खेती लगाएका छन्। सीमाका भारतीयको प्रत्यक्ष सम्पर्क नेपालीसँग भएकाले पनि समस्या भएको कोइरालाले बताए।

सीमामा खटिएका प्रहरी र भारतीयबीच पहिलेदेखि विवाद हुँदै आएको थियो। कचनकवल-४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयसँग सोमबार बिहान पनि विवाद भयोे। कचनकवल गाउँपालिकाअन्तर्गतको सीमातर्फ नेपालमा लगाइएको मकै खेतीमा काम गर्न १५ जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा आइतबार बिहान सामान्य भनाभन चलेको थियो। भारतीय सुरक्षाकर्मीको पहलमा त्यो विवाद सल्टिएको थियो।

प्रहरीका अनुसार सोमबार राति दुई जना भारतीय युवा मोटरसाइकल चढेर नेपाल प्रवेश गर्न खोजेका थिए। झापा गाउँपालिकाको नेपालतर्फ खेती लगाएका उनीहरूले राति ९ बजेतिर ‘बारीमा मकै पाकेर खेर जान लाग्यो’ भन्दै उठाउन दिन प्रहरीसमक्ष आग्रह गरेका थिए। प्रहरीले भने उनीहरूको कुरा सुनेनन्। नेपाली सुरक्षाकर्मीको टोलीले सम्झाइबुझाइ गरी उनीहरूलाई भारततिरै पठाएको थियो।

१३१ सीमा पिलरमा रहेका नेपाली सुरक्षाकर्मीले दुई-तीन जनालाई भारततिरै पठाए। त्यसलगत्तै करिब २ सयको संख्यामा आएको समूहले सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जिल्ला समन्वय प्रमुख सोम पोर्तेलले बताए।

‘ठूलो संख्यामा आएका भारतीयले सुरक्षाकर्मीमाथि बल प्रयोग गरी नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन्’, उनले भने, ‘झापा गाउँपालिका वडा नम्बर ४ को सुकुम्बासी बस्तीनजिकै उक्त घटना भएको हो।’

झापा गाउँपालिकास्थित १३१ नम्बर पिलरनजिकै बसेको सशस्त्र प्रहरीको क्याम्पमा उनीहरुले आक्रमण प्रयास गरेको जिल्ला सशस्त्र प्रहरी प्रमुख रेशमकुमार थाक्सूले बताए। ‘ड्युटीमा बसेका सशस्त्रको टोलीमाथि भारतीयहरू घरेलु हातहतियार खुर्पा, खुकुरी, भाला लठ्ठीसहितले आक्रमण गर्न आएका थिए’, उनले भने।

भारतीयहरू आक्रमण गर्ने तवरले उक्त आक्रोशित भीड आएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। हवाई फायरपछि उनीहरू तित्तरवित्तर भएका थिए।

उनका अनुसार भारतीयको आक्रमणपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा पारिएको छ। मंगलबार जिल्लाका सरकारी अधिकारी र सुरक्षाकर्मीको टोली र भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर दुवैतर्फ सुरक्षा कडा बनाइएको उनले बताए।

लकडाउनका कारण भारतीय नेपाल प्रवेश गर्न नपाउँदा सीमा सुरक्षामा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए। ‘यति बेला सबैले आर्थिक पाटोभन्दा पनि मानव जीवन बाँच्नुपर्छ भन्ने कुरा हो’, उनले भने, ‘व्यावहारिक पाटो सम्बोधन हुन नसक्दा भएको आक्रमण हो, जसका कारण सुरक्षा चुनौती बढेको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.