पाँचथरमा ७८१ जनाको आरडीटी परीक्षण
फिदिम : पाँचथरमा सात सय ८१ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ।आठवटा स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा बसेका सबैको आरडीटी रिपोर्ट नेगेटिभ आएको हो।
याङवरक गाँउपालिका ६ का एक पुरुषमा आरडीटी पोजेटिभ देखिएपछि स्वाब परीक्षणबाट कोरोना संक्रमण नभएको पुष्टि भएपछि जिल्लाको अवस्था सामान्य छ।स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीकाअनुसार आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरु सबैलाई घर पठाइएको छ।
‘पाँचथरमा हालसम्म कोरोना संक्रमित भेटिएको छैन,’ सुबेदीले भने ‘यो जिल्लाबासीका लागि खुसीको कुरा हो, तर हामी सबै सचेत हुन आवश्यक छ ।’ केही दिन अघि काठमाडौंबाट ठूलो संख्यामा विद्यार्थी र मजदुरहरु जिल्ला भित्रिएपछि गाँउमा त्रासा फैलिएको थियो।जिल्ला भित्रिएका सबैको आरडीटी परीक्षण गरी घर पठाइएको छ।
हालसम्म फिदिम नगरपालिकामा एक सय ९०, मिक्लाजुङ गाउँपालिकामा १३३, तुम्बेवा गाँउपालिकामा ४२, याङवरक गाँउपालिकामा ८४, फालेलुङ गाँउपालिकामा ६६, फाल्गुनन्द गाँउपालिकामा एक सय १२, हिलिहाङ गाँउपालिकामा ६७ र नेपाल प्रहरीको मुद्धा शाखाका पाँच प्रहरीको आरडीटी परीक्षण गरिएको हो।