सप्तरीको कोरोना संभावित टोलबाट संकलन गरिएका सबै नमूना रिपोर्ट नेगेटिभ
राजविराज : सप्तरीका कोरोना भाइरस जोखिमयुक्त स्थानबाट लिइएका सबै स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि स्थानीयले केही राहत महशुस गरेका छन्। 'परीक्षण गरिएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यहाँ बस्ने हामी सबैले राहत महसुस गरेका छौं,' सप्तकोशी नगरपालिका-२ का वडा सदस्य जाहिर हुसेनले भने।
सीमा जोडिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केमा संक्रमित पुष्टि भएका जमाती सप्तकोशीस्थित मस्जिदमा बसेर गएकाले हामीसँग गरिने व्यवहार नै फरक हुन थालेको थियो, उनले भने, 'आरडीटी परीक्षणमा ७१ वर्षीय वृद्धको रिपोर्ट पोजिटिभ आएपछि त झन सिंगो समुदायलाई बजारमा किनमेल गर्न र मिलमा धान कुटाउन पनि समस्या भएको थियो।'
मंगलबार रातीसम्म सबै रिपोर्ट कस्तो आउने हो ? भन्ने थियो, नगर प्रमुख उत्तम शर्माले भने, 'आरडीटी पोजिटिभ आएका वृद्ध र उनको परिवारको पीसीआर नेगेटिभ आयो, त्यसपछि सम्भावित टोलबाट लिइएको सबै १ सय १४ जनाको रिपोर्ट पनि नेगेटिभ आयो ।'
विदेशबाट आएका र जमातीसँग प्रत्यक्ष सम्पर्कमा आएकाको रिपोर्ट पनि नेगेटिभ आएकाले सबैजना ढुक्क भएको शर्माले बताए । नियमित किनमेलका लागि हाटबजार जानुपर्ने महिलालाई झनै राहत मिलेको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि व्यवहारमा सुधार आएको वडा २ की सम्सा खातुनले बताइन् ।
सप्तकोशीबाट लिइएको १ सय १४ सहित बोदे बर्साइनबाट लिइएको १ सय ६१ र कञ्चनरुपबाट लिइएको ४३ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएपछि ती क्षेत्रहरु मात्र नभई सिंगो सप्तरीवासीले राहत महसुस गरेको सप्तकोशी-४ का हाजी अयुवले जनाए ।
स्वास्थ्य कार्यालय सप्तरीले जोखिमयुक्त ठहरिएका तीन वटै नगरपालिकाबाट संकलन गरिएको सबै ३ सय १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले भने, 'कोरोनाको खतरायुक्त स्थानका रूपमा राखिएको ठाउँहरूमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको छ तर भारतीय सीमासँग जोडिएको र छिमेकी जिल्ला उदयपुर सबैभन्दा बढी प्रभावित भएकाले सप्तरीमा बढी सर्तकता जरुरी छ ।'
उदयपुरको भुल्केमा संक्रमित पुष्टि भएका जमाती केही दिन बसेका कारण कञ्चनरूप र सप्तकोशी नगरपालिकामा तथा इस्लाम धर्मालम्बीको धार्मिक सभा 'इज्तिमा' भएकाले बोदे बर्साइनमा एक साथ ठूलो सङ्ख्यामा स्वाब परीक्षण गरिएको हो । सप्तकोशी पछि उनीहरू बसेको उदयपुरको चौदण्डी नगरपालिका-५ सिवाइमा ५८ र त्रियुगा नगरपालिका-२ मोथियाहीमा २० जनाको गरिएको नमूना स्वाब संकलनको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
भुल्केभन्दा अगाडि जमातीहरू बसेको स्थानमा कोरोना नदेखिएकाले जमातीबाट कोरोना सरेको नभइ उनीहरूलाई भुल्केमा नै कोरोना सरेको इस्लामी संघ नेपालका सप्तरी जिल्ला अध्यक्ष कलिम खानले दावी गरे ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट पठाइएकोमध्ये ५० जनाको स्वाबको रिपोर्ट समेत नेगेटिभ आएको छ । हालै पठाइएको ११ जनाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । जोखियुक्त स्थान ठहर गरिएको सप्तरीको रिपोर्टमा नतिजाहरू नेगेटिभ आएसँगै सप्तरीबासीले राहत महसुस गरेका छन् ।