दार्चुलामा असिना-पानीले खेतीबाली नष्ट
दार्चुला : दार्चुलामा बुधबार बेलुका भारी वर्षासँगै परेको असिनाका कारण भित्र्याउँदै गरेको बालीनाली लगायत तरकारी र फलफूल ठूलो मात्रामा नोक्सान पारेको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका –२ का शेर सिँह रावतका अनुसार पाक्नै लागेको अन्न बालीसँगै तरकारीमा समेत क्षति पुगेको छ । यस्तै असिना पानीले थापलाका किसानहरुले लगाएको फलफूल तथा तरकारी खेतीमा असर पारेको महाकाली नगरपालिका ९ का विक्रम सिंह सामन्तले बताए । उनले भने 'दार्चुलाको महाकाली नगरपालिका अन्तर्गत धाप, धौकोट, निसिल, द्त्तु ,थापला, नौगाडको खार, दल्लेख, मालिकार्जुनको न्वालपानी, भगवती,मड लगायतका ठाउँमा बुधवार असिना पानी परेको हो ।'
बालि भित्र्याउने बेला परेको असिनाले सखाप पारेपछि किसानहरु निकै चिन्तित भएको महाकाली नगरपालिका ७ का निरा जोशिले बताइन् । जोशिले भनिन 'दिउँसो निकै घाम लागेको थियो असिना पानी पर्ला भन्ने कुनै सम्भावनानै थिएन, एक्कासी आएको असिना पानीले साग तरकारीले, काटीसकेका गहुका मुठाहरु समेत बोटुल्न नसकेर पुरै सखाप भएको छ ।'