हात्तीले कुल्चिदा सप्तरी एक महिलाको मृत्यु
राजविराज : हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया जानकी मगरलाई हात्तीले कुल्चिँदा मृत्यु भएको स्थानीय बाबुराम घिमिरेले बताए।
तीनवटा हात्तीको समूह गाउँ प्रवेश गरेपछि भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको मृतकका श्रीमान पेशल मगरले जानकारी दिए। हात्तीको समूह आँगनमै प्रवेश गरेपछि आफू ज्यान जोगाएर भागेको र श्रीमती भाग्ने क्रममा लडेपछि पछाडिबाट आएको अर्को हात्तीले टाउकोमा कुल्चिएको उनले बताए। हात्तीको समूहले स्थानीय लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काउनुका साथै धान चामल खाएर नष्ट गरेको छ।
महिलाको शवलाई पोस्ट्मार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको छ। दुई दिनअघि हात्तीको समूहले अग्नीसाइर कृष्ण सवरण गाउँपालिका- २ स्थित राम टोलका बिरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेबी राम र नारायण रामको घर भत्काएको थियो। हात्ती आँगनभित्र पसेको देखेर भाग्न खोज्दा गत साता अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीका भुवन आचार्य लडेर घाइते भएका थिए।
यसैगरी गत शनिबार खडक नगरपालिका ७ मा हात्तीले घर भत्काएको थियो भने आइतबार सप्तकोशी नगरपालिका– ५ मा हात्तीले बालीमा क्षती पुर्याएको थियो। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किने हात्तीले दैनिक अग्निसाइर कृष्णसवरण, रुपनी गाउँपालिका, कञ्चनरुप, सप्तकोशी, शम्भुनाथ, सुरुङ्गा, खडक, हनुमाननगर कंकालिनी नगरपालिका लगायतमा बालीनाली सखाप पार्ने, घर भत्काउने र मानिसलाई आक्रमण गर्दै आएको छ।