कर्णालीमा कोरोना जोखिम : गाउँ भरिए, क्वारेन्टाइन रित्तै, छैन परीक्षण
कालिकोट : जिल्लामा गत चैत महिनायता झण्डै ९ हजार व्यक्ति जिल्ला भित्रिएका छन् । लकडाउनकै अवधिमा स्थानीय सरकारले उद्धारका नाममा ५ हजार मानिसलाई गाडीमा हालेर ल्याएका छन् । हाल जिल्लाका ९ वटै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा २ सय ३३ जना मात्र छन् । क्वारेन्टाइनमा १४ दिन बसेर ९ सय १४ जना घर फर्किएका छन् । जिल्लाभरी गरी जम्मा १७ जनाको मात्र स्वाब संकलन गरी परीक्षण गरिएको छ । जम्मा ४ सय ३७ जनाको मात्र र्यापि टेष्ट गरिएको छ ।
लकडाउनकै अवधिमा उद्धारका नाममा जिल्ला भित्र्याएका त कोही आफै पैदल बाटो हिँडेर गाउँ आएका छन्।तर जिल्लाका ९ वटै स्थानीय तहमा बनेका क्वारेन्टाइन रित्तै छन् । विदेशबाट आएका तथा संक्रमित पहिचान भएका ठाउँबाट आएका मानिसले गाउँ भरिए पनि उनीहरुलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न नसक्दा क्वारेन्टाइन खाली भएका हुन् ।
जिल्लामा १ हजार ८४ बेडको क्वारेन्टाइनको व्यवस्था गरिएको भएपनि २ सय ३३ जना मात्र क्वारेन्टाइनमा बसालिएका छन् । बाँकी ८ सय ५१ क्वारेन्टाइनका बेडहरु खाली छन् । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जिल्लामा आउने सबै मानिसलाई क्वारेन्टाइनमा राख्नन आग्रह गरिएको भएपनि सबैलाई क्वारेन्टाइनमा राख्न नसकिएको बताए ।
उनले भने, 'हामीले स्थानीय सरकारलाई आग्रह गरेका हौँ। तर स्थानीय सरकारले उद्धार गरेर ल्याएका मानिसलाई समेत क्वारेन्टाइनमा राख्न सकेनन् । जसका कारण कोरोनाको संक्रमणको जोखिम गाउँमा बढेको छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार प्रदेश सरकारले पठाएका ६ सय आरडिटी किटमध्ये ४ सय ३७ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब १ सय ६३ किट मात्र बाँकी छन् ।
जिल्लामा बाहिरबाट आउनेको संख्या धेरै परीक्षण किट कम भएकाले सबैको परीक्षण गर्न सम्भव छैन् । उनले भने, 'हामीले पछिल्लो समयमा विदेशबाट आएकाको हकमा अनिवार्य तर नेपालका विभिन्न भागबाट आएका मानिसको हकमा एक गाडीमा आएकामध्ये दुई तीनजना र एकै परिवारका धेरै आएको खण्डमा एकजनाको नमुनाका रुपमा परीक्षण गर्ने गरिरहेका छौँ।'
बाँकेमा संक्रमितको संख्या बढ्दै गइरहेका बेला बाँकेलगायत शंकास्पद ठाउँबाट आएका धेरै मानिसको परीक्षण नहुँदा गाउँमा त्रास बढेको हो । बाँकेको नेपालगञ्ज र कैलालीको गौरीफण्टाबाट धेरै मानिस जिल्ला भित्रिएका छन् । तर उनीहरुको परीक्षण भएको छैन् । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले उद्धार गरेका एक सय ८० जनालाई होम क्वारेन्टाइनमा बस्ने भनेर घर पठाएको थियो ।
ती सबै मानिस गाउँमा घुमफिर भेटघाट गरिरहेका छन् । यस्तै पलाँता गाउँपालिकाले झण्डै २ सय जना उद्धार गरी ल्याएको थियो । पलाँतामा झण्डै एक हजार मानिस आफै पैदल बाटो हिँडेर आएको स्थानीय बताउँछन् । सान्नीत्रिवेणी गाउँपालिकाकी स्थानीय मातृका उपाध्यायले भने्, 'भारतबाट आएका २ जना लुसाका मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । अरु सयौँ विदेशबाट आएका तथा नेपालगञ्ज, सुर्खेत, काठमाडौंबाट आएका मानिस गाउँमा डुलिरहेका छन् । गाउँमा लकडाउनको कुनै मतलव छैन् । लकडाउनकै समयमा देश भित्रका विभिन्न ठाउँबाट आएकाको भने किट अभावले सबैको स्वास्थ्य परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले बताए ।
क्वारेन्टाइनमा राखिएकालाई समेत बिना र्यापिड टेष्ट घर पठाइएको छ । जिल्लामा हालसम्म १ हजार १ सय ४७ जनालाई क्वारेन्टाइनमा राखिएकोमा ४ सय ३७ जनाको मात्र टेष्ट गरिएको छ। बाँकी ७ सय १० जनाको बिना परीक्षण घर पठाइएको छ । यसले पनि कालिकोवासीलाई थप त्रसित बनाएका छ ।