बेनी-जोमसोम सडक निर्माणमा स्थानीयको अवरोध
जोमसोम : राष्ट्रिय गौरवको निर्माणधिन बेनी+जोमसोम ७६ किमी सडक स्तरोन्नति कार्यमा स्थानीयले अवरोध गरेका छन् । विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरना भाइरस (कोभिड-१९)को सम्भावित जोखिम भन्दै स्थानीयले उपकरण चलाउने अपरेटरलाई सडक खन्न रोकेको करिडोर सडकका ईन्जिनीयर अश्विनीकुमार यादबले जानकारी दिए ।
कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडकको प्याकेज नम्बर ३ को घासा- कोवाङ खण्डको भीर कटिङको काममा स्थानीयले अवरोध पुर्याएका हुन् । उक्त खण्डमा शर्मा गुजरमुखि जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएको थियो ।
प्याकेज-२ म्याग्दीको दानामा पनि स्थानीयले अवरोध गरेपनि उनीहरु सडक खन्न दिने सहमतीमा पुगेको इन्जिनियर यादवले बताए । लकडाउन गरेसँगै सडकको काम रोकिएको थियो । नेपाल सरकार मन्त्रीपरिषद बैठकले हालै कोरोना जोखिमको सावधानी अपनाउँदै विकास निर्माण काम सूचारु गर्न निर्देशन दिएपनि स्थानीय स्तरमा सडक खन्ने काममा बाधा पुगेको इन्जिनियर यादवले उल्लेख गरे ।
काम रोकिएपछि अहिले अपरेटर चालक बिचल्ली परेको इन्जिनियर यादवको भनाई छ । यसअघि मुस्ताङ प्रशासनले समेत कोरोना जोखिम न्युनिकरण गर्न ११ बुँदे सर्तमा रही विकासको काम गर्न निर्माण कम्पनीलाई आह्वान गरिएको थियो । तर , स्थानीयले भने कोरोना जोखिम कायमै रहेको भन्दै सडक खन्ने अपरेटरलाई १४ दिन क्वारेन्टाइन बस्न लगाएका थिए ।
तर, सडकका उपकरण अपरेटरले सेल्फ क्वारेन्टाइनमा रही सामाजिक दूरी कायम गरी काम गर्ने स्थानीयलाई आश्वस्त जनाए पनि क्वारेन्टाइन नबसे काम गर्न नदिने अडान लिएको इन्जिनियर यादवले जनाए ।
स्थानीयको असहयोगका कारण लकडाउनमा घर फर्किएका मजदुरलाई काममा बोलाउन समस्या परेको उनले उल्लेख गरे ।यस्तै ,करिडोरले घर गएका मजदुरलाई कार्यस्थलमा पास स्वीकृत गर्न अप्ठ्यारो परेको जनाएको छ ।सडक स्तरोन्नतिकार्यमा स्थानीय तह र स्थानीय प्रशासनले सहजीकरण गर्न नसकेको इन्जिनियर यादवको दुखेसो छ ।
कोरोनाका कारण विगत १ महिना अघिदेखि राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित भएको थियो । करिडोरले लक डाउन समयमा सवारी साधनको आउजाउ नहुने हुँदा काम गर्न सहज हुने जनाए पनि स्थानीयको अवरोधले समस्या परेको हो ।
लकडाउन अघि बेनी-जोमसोम सडकको राहुघाटदेखि मुस्ताङको घासासम्म मुस्ताङ आउजाउ गर्ने सवारीले टाइमकार्ड लगाएर सडकको काम हुँदै आइरहेको थियो । त्यहाँ सडकको बैकल्पिक डाइभर्सन नहुँदा दैनिक ८ घण्टा सवारी रोकेर काम गर्नुपर्ने बाध्यता थियो ।
लकडाउन खुकुलो र सरकारले अनुमति दिएपछि करिडोरका मजदुर विस्तारै कार्यस्थल फर्किँदै थिए । शर्मा गजुरमुखि र सप्तकोशी जलाधार कन्ट्रक्सनले म्याग्दीको रुप्से ,घासा ,कोवाङ र स्याङलगायतका स्थानमा सडक फराकिलो पार्ने ,कटिङ र सबवेशलगायतका काम गर्दै आइरहेका छन् ।
घासा खण्डमा शर्मा गजुरमुखिका करिब १० वटा उपकरणले स्थानीयको अवरोधका कारण काम गर्न सकेका छैनन् । बेनी-जोमसोम ७६ किमी सडकको ४ खण्डमा ६० प्रतिशत प्रगति भएको छ । यस्तै ,जोमसोम-कोरला १ सय १० किमी सडकको ७ खण्डमध्ये ३ वटा प्याकेज करिडोरलाई हस्तान्तरण भइसकेको छ भने भेना-झैते ११ किमी सडक अन्तिम चरणमा छ ।
अन्य ३ खण्डको काम ६५ प्रतिशत सम्पन्न भएको छ । करिडोरले स्थानीयको समन्वय भएमा सडकको कामलाई सूचारु गर्ने जनाएको छ ।