मध्यरातमा हात्तीको उपद्रो
राजविराज : मध्यरात गाउँ प्रवेश गरी आंतक मच्चाउँदै आएको तीनवटा हात्तीको समूहले बिहीबार राती अग्नीसाइर कृष्ण सवरण गाउँपालिका-५ मोहनपुर टोलमा घर तोडफोड गरेको छ ।
हात्तीको समूहले पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काउनुका साथै खाधान्न नष्ट गरेको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए । घरसहित भर्खरै भित्र्याइएको गहुँ, चामल, गाईवस्तुका लागि राखेको आहारा समेत गरी करीब साढे एक लाख मूल्य बराबरको खाधान्न क्षति भएको पीडितले बताए । साढे एक महिनादेखि जारी लकडाउनले बेरोजगार बनाएको बेला हात्तीले घर र खाधान्न समेत क्षति पुर्याउँदा समस्या परेको पीडित बञ्जाराले बताए ।
भत्किएको घरको मर्मत सम्भार गर्न र नष्ट भएको खाधान्नको क्षतिपूर्ती अविलम्ब उपलब्ध गराउन पीडितले स्थानीय तहसँग माग गरेका छन् । मानवीय र भौतिक क्षति बढदै गएकाले हात्ती आतंक रोक्न पहलका लागि समेत पीडितले स्थानीय तहसँग माग गरेका छन् ।
बिहीबार बिहान मात्र नजिकैको शम्भुनाथ नगरपालिका-२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । शम्भुनाथ नगरपालिका- २ का वडा अध्यक्ष दुर्गानन्द भगतका अनुसार दिनभरी उत्तरपट्टीको टिकघारी जंगलमा बस्ने हात्ती रात परेपछि गाउँ पस्छ र तोडफोड मच्चाउँछ ।
दुई सातादेखि दैनिक रुपमा मध्यरात भएपछि कोशी टप्पु वन्य जन्तु आरक्षबाट सप्तरीको उत्तरी भेगको वस्तीमा हात्तीको समूह गाउँ प्रवेश गर्ने गरेकोले आंतक बढेको छ । अहिले आरक्षबाट निक्लिएको तीनवटा हात्तीको समूहले सप्तरी जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पारेको छ ।
दिनभरी नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर मध्यरात घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आउन थालेपछि हात्तीको त्रासले गाउँलेहरुले जाग्राम बस्ने गरेका छन् ।