किट अभावमा क्वारेन्टाइनबाट परीक्षणबिनै घर पठाइयो
जाजरकोट : लकडाउनकै अवधीमा जिल्ला बाहिरबाट आएका एक सय ६७ जनालाई जाजरकोटको बारेकोट गाउँपालिकाले क्वारेन्टाइनमा राख्यो। तर उनीहरु मध्ये आधाभन्दा बढी नागरिकलाई एक हप्ता मात्र क्वारेन्टाइन राखेर परीक्षणबिनै घर पठाइएको छ। किट नहुँदा गाउँपालिकाले परीक्षणबिनै घर पठाएको हो ।
क्वारेन्टाइनमा राखिएका सबैको परीक्षणका लागि आरडीटी किट माग गरेका थियौं तर स्वास्थ्य सेवा कार्यालयले किट सकिएको भन्दै ७० वाटा मात्र पठाएपछि आधाभन्दा बढी परीक्षण नगरेरै घर पठाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।
गाउँपालिकामा लकडाउनको अवधीमा दुई हजार चार सय भित्रिएका थिए । त्यसमध्ये एक सय दुई पटक गरेर एक सय २५ जनाको मात्र आरडीटी परीक्षण गरिएको छ। बाँकीको परीक्षण हुन सकेको छैन।धेरैजसो क्वारेन्टाइनमा पनि बसेनन्। परीक्षण पनि गराएनन्। कतिपय भारतबाट पनि आएका छन् ।
परीक्षण नहुँदा अन्यौल बढेको छ गाउँपालिका अध्यक्ष महेन्द्र शाहले भने, 'किट नहुँदा सबैको परीक्षण गर्न सकिएको छैन । सम्बन्धित निकायमा किट माग गरेको गरेका छौं, तर सुनुवाई हुन सकेको छैन।'
बारेकोटमा मात्र होइन किट अभावमा जिल्लाका सातवटै पालिकामा जिल्ला बाहिरबाट आएका परीक्षण हुन सकेको छैन । जिल्ला बाहिरबाट आएका र घरमा रहेका सबै घुलमिल भइसकेका छन्।
एक जना मात्र संक्रमित भित्रिएको भए सबै समुदाय जोखिममा पर्ने निश्चित छ।न परीक्षण छन् समुदाय सचेत छन्। रुघाखोकी र ज्वरो आएका बिरामी पनि सिधै मेडिकल गएर औषधि किनेर खाने गरेका छन्। जसले गर्दा पनि संकास्पद पहिचान गर्न समस्या परिरहेको स्वास्थ्यकर्मीको भनाइ छ।
छेडागाड नगरपालिका थलह बजारमा रहेको डेभिड मेडिकलका संचालक अर्जुन अधिकारी ज्वरो र रुघाखोकीका विरामीले प्रयोग गर्ने सिटामोल, एमोक्सिलिन एन्टिवायोटिक लगायतका औषधीको विक्री बढिरहेको बताए ।
उनले आफ्नो मेडिकलमा दैनिक ५÷१० जना बिरामी ज्वरो र रुघाखोकीका आउने गरेको बताए।ज्वरो आएका सरकारी स्वास्थ्य संस्थामा जाँदा कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्नु पर्ने झन्झटका कारण पनि मानिस सिधै मेडिकलबाट औषधि लिएर खाने गरेको स्थानीयको भनाइ छ।स्वास्थ्य संस्थामा पनि थर्मलगन बाहेक अन्य कुनै साधन नहुँदा स्वास्थ्यकर्मी आफै यसबारे अनभिज्ञ रहेका छन् ।
द्रुत परीक्षण (र्यापिड डाइग्नोष्टिक टेष्ट) बाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन आवश्यक पर्ने किटको अभाव हुँदा शंकास्पदको परीक्षण गर्न समस्या भएको छ। लकडाउनको अवधि करिब १० हजार मानिस जिल्लामा भित्रिएका भएपनि हाल सम्म पाँच सयको मात्र आरडिटी परीक्षण भएको छ । संक्रमण फैलिएका बाँके, पर्सालगायतका सहरबाट लकडाउनकै समयमा आएकाको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए।
प्रदेश सरकार अन्र्तगतको सामाजिक विकास मन्त्रालयसँग किट माग गरिएको भएपनि कर्णालीमै किट नहुँदा समस्या भएको उनले बताए । हालसम्म कर्णालीमा कोरोनाको संक्रमण नदेखिएको भन्दै ढुक्क हुने अवस्था नरहेको पुर्वसाँसद राजिव विक्रम शाहको भनाई छ । उनले भने, 'लकडाउनकै अवधिमा कर्णालीमा भारतबाट हजारौंको संख्यामा मानिस भित्रिएका छन् ।
कर्णालीका दुर्गम गाउँमा परीक्षणको अभाव छ ।आरडिटी किट समेत पठाउन नसकेको सरकारले पीसीआरबाट परीक्षण गर्ने कुरा झन कठिन कुरा छ। जसले गर्दा कर्णालीमा भुसको आगो झै कोरोना फैलिन सक्छ।अहिलेसम्म देखिएको छैन भनेर ढुक्क भएर नबसौं।परीक्षणको दायरा बढाऔं।'