बैतडीमा औलो र स्क्रब टाइफसका बिरामी देखिए
बैतडी : गर्मीयाम शुरु भएसँगै बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। पछिल्ला केही वर्ष यता बैतडी जस्ता पहाडी जिल्लाहरुमा पनि औलोका बिरामी देखिन थालेका हुन्।
इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो बर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। जिल्लाको शिवनाथ गाउँपालिका २ जोलापानीकी ६ वर्षीया अस्मीता साउँदमा औलोरोग भएको पुष्टी भएको छ। केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले जानकारी दिए । साउँदको अहिले उपचार भईरहेको छ। एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोट आएको उनले बताए।
पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झुलको प्रयोग गरेर सुत्ने, घरवरीपरीको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।