आगजनी र विष्फोटमा संलग्न विप्लव कार्यकर्ता पक्राउ
विराटनगर : मोरङमा सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजनी र बम विष्फोटको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ।
किसानचौक-टाँडी-रमिते सडक खण्ड निर्माणमा प्रयोग गरिएका तीनवटा एक्साभेटरमा २०७६ माघ ५ गते राति ९ बजे आगजनी र बम विष्फोट गरेर पूर्ण रुपमा क्षति पुर्याइएको थियो। घटनामा संलग्न रहेको पाइएपछि ‘विप्लव’का कार्यकर्ता रतुवामाई नगरपालिका-८ घर भएका ४० वर्षीय लक्ष्मण न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक सुवास राईको नेत्रृत्वमा परिचालित टोलीले उनलाई शनिबार राति रतुवामाई क्षेत्रबाटै पक्राउ गरेको राईले बताए।
घटना भएको तीन महिनापछि मात्रै आगजनी र विष्फोट ‘विप्लव’ समूहले गराएको निस्कर्षमा प्रहरी पुगेको छ । त्यससँगै प्रहरीले ‘विप्लव’का कार्यकर्तालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन थालेको छ।
यसै घटनामा संलग्न रहेको भन्दै प्रहरीले वैशाख ८ गते केराबारी गाउँपालिका-६ घर भएका ३८ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरेको थियो । धरानबाट पक्राउ गरिएका उनी पनि ‘विप्लव’ समूहमा आवद्ध रहेको र आगजनी एवं विष्फोटमा संलग्न रहेको खुलेको डीएसपी राईको भनाइ छ। यसअघि नै पक्राउ परेका बस्नेतमाथि अनुसन्धान अघि बढाइएपछि ‘विप्लव’ समूहमा आवद्ध रहेर घटनामा संलग्न बनेका न्यौपानेलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैविरुद्ध आगजनी र बम विष्फोट मुद्दा अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए। घटनापछि तीव्ररुपमा काम भइरहेको उक्त सडक खण्ड निर्माण र स्तरोन्नतिको काम निक्कै लामो समय अवरुद्ध बनेको थियो। एक महिनादेखि भने काम सुचारु छ।
प्रहरी अनुसन्धानबाट आठ जनाको समूहले घटना गराएको र घटनामा संलग्न सबै जना ‘विप्लव’ समूहमा आवद्ध रहेको खुलेको प्रहरीका एक अनुसन्धान अधिकृतले बताए । उनले घटना गराउने अन्य छ जनाको खोजी भइरहेको जानकारी दिए।
सडक निर्माणका क्रममा मिक्लाजु गाउँपालिका- १ स्थित रमितेमा राखिएका बा ३ क ४०१२, को १ क ३०३० र बा ३ क ३५४२ नम्बरका एक्साभेटरमा आगजनी र विष्फोट गरेर क्षति पुर्याइएको थियो।