कोरोना त्रास : ट्युबबाट महाकाली तरेर नेपाल फर्कने क्रम जारी
बैतडी : लकडाउनले सीमा नाका बन्द भएपछि बैतडीसँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमा नाका बन्द हुँदा सशस्त्र प्रहरीको आँखा छलेर रातीको समयमा स्वदेश फर्कने क्रम जारी रहेको हो । भारतको पिथौरागढमा लकडाउन केही खुकुलो भएपछि पिथौरागढ क्षेत्रमा रहेका नेपाली स्वदेश फर्कन लागेका हुन् ।
महाकाली नदीमा ट्युबमार्फत उनीहरु स्वदेश फर्किरहेका हुन् । वैशाख १८ गते भारतीय क्वारेन्टाइनमा बसेका नेपाली स्वदेश फर्काए पनि अवैध रुपमा स्वदेश फर्कने नरोकिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । 'महाकालीमा ट्युबमा तरेर फर्कने क्रम जारी छ । यही वैशाख १८ गतेपछि पनि ४० जना स्वदेश भित्रिएका तथ्यांक छ,' उनले भने ।
प्रतिव्यक्ति २ हजार भारु तिरेर महाकाली नदीमा ट्युबमार्फत स्वदेश फर्केको दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका जनक देवकोटाले बताए । उनले भने, 'परदेशमा रोग र भोक दुवैको समस्या भएपछि जोखिम मोलेर स्वदेश फर्केका हौं।'
जनकसँगै दुईजना अरु शुक्रबार राती महाकाली नदी तरेर स्वदेश फर्किएका हुन् । सीमामा सशस्त्र प्रहरीको गस्ती भएपनि उनीहरुको आँखा छलेर रातिको समयमा नेपाली स्वदेश फर्किरहेका छन् ।
महाकाली नदीमा ट्युबमार्फत स्वदेश पुर्याएका भारतीयले २ हजार भारु लिने गरेका छन् । 'आफूसँग नदी तर्नका लागि मात्रै पैसा थियो । रातीको समयमा २ हजार भारु तिरेर महाकाली तरेका हौं,'मुगुका सागर रोकायाले भने, 'भारतमा कोरोना संक्रमणको जोखिम बढी छ । काम पनि नपाइने भएपछि स्वदेश फर्केका हौं ।'
अझै पनि सिमावर्ती क्षेत्रमा थुप्रै नेपाली स्वदेश फर्कने तयारीमा छन् । झुलाघाट र आसपासका क्षेत्रमा पनि स्वदेश फर्कनका लागि नेपाली सीमामा पुगेको र उनीहरुको रातीको समयमा स्वदेश फर्किरहेका छन् ।
सीमा क्षेत्रमा निगरानी समूह गठन हुँदै
महाकाली नदीमा ट्युबमार्फत तरेर अवैध रुपमा नेपाली फर्कने क्रम नरोकिएपछि सिमावर्ती स्थानीय तहले निगरानी समूह गठन गर्न थालेका छन् । कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै पालिकाले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, 'हामीले बैठक बसेर सबै तहसँग निगरानी समूह गठन गर्न भनेका छौं । केही स्थानीय तहले गठन पनि गर्दैछन् ।'
निगरानी समूहले अवैध रुपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने,सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पुर्याउने काममा सहयोग गर्ने बताइएको छ ।
दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको जनाएको छ । वडा अध्यक्षको अगुवाई निगरानी समूह गठन गर्ने काम भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् ।
यस्तै शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि निगरानी समूह गठन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।