पीडितको आरोप : सत्ताको आडमा प्रहरीले उजुरी लियो दर्ता गरेन
कालिकोट : पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बमलाई कुटपिट गर्नेविरुद्ध दिएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको पीडित पक्षले आरोप लगाएका छन्। घाइते बमसहितको टोलीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगेपछि अध्यक्ष बमका दाई लंकबहादुर बमले जिल्ला प्रहरी कार्यालय कालिकोटमा आइतबार उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको उनले आरोप लगाएका हुन्।
गाउँपालिका अध्यक्ष लक्ष्मण बमका दाई लंक बमले भने, 'मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले दर्ता गरिदिएन्। उल्टै राजनीतिक मुद्दा भएकाले नेकपाका नेताहरुले प्रहरीलाई दर्ता नगर्नु भनेका रहेछन्। मैले दिएको मुद्दा किन दर्ता भएन भनेर म जिल्ला प्रहरी प्रमूख डिएसपी शयामबाबु ओलीयासँग गए। उहाँले पनि हामी अनुसन्धान गरिरहेका छौँ। तपाईलाई भोली फोन गरेर बोलाउँछु भन्ने भयो। हाज फोन आएन्। भाई, भाई बुहारी र छोरालाई अपराधिहरुले ढुंगा हान्न हुने तर प्रहरीले राजनीति मुद्दा भनेर दर्ता नगरिदिने के कानुन हो?'
कुटपिटमा संलग्न नेकपाका पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकाया, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर भण्डारी, स्थानीय मोती कार्की र धनबहादुर भण्डारीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा प्रहरी कहाँ पेश गरिएको छ। उनले भने 'तर प्रहरीले पार्टीका नेताहरुले राजनीतिक मुद्दा हो। मुद्दा दर्ता नगर्ने भनेका आधारमा मुद्दा दर्ता भएको छैन्। सत्ता र शक्तिका कारण हामीले न्याय नपाउने?' यता जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी ओलीयाले पलाँतामा भएको कुटपिटको घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने 'हामीले घटनाको बिषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ। कसैले भनेर मुद्दा दर्ता नभएको होइन। प्रक्रिया पुगेपछि मुद्दा दर्ता हुन्छ।'
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आफुहरुले पलाँताको राडुनेटा हुँदै खिन छलाहा जाने सडकको जग्गा विवाद समाधान गरी गाउँपालिका फकिर्ने क्रममा नेकपा गाउँपालिका अध्यक्षसहितको टोली आएर आफुहरुमाथि आक्रमण गरेको बताए। उनले भने 'हामी पालिका फर्किने तयारीमा थियौँ। उनीहरु आएर पालिका केन्द्र किन निर्माण भएन। थिर्पुमा किन १५ शैया अस्पताल निर्माण भयो भनेर विवादको सुरुवात गरे। मैले विस्तारै निर्माण हुन्छ भन्दा भनेर जवाफ दिएँ। तर उनीहरुले सिधै ढुंगामुडा गरेर आक्रमण गरे।' नेकपा पलाँता गाउँपालिका अध्यक्ष विष्णु रोकायाले पलाँतामा भएको सामान्य विवादलाई ठुलो बनाइएको बताए। उनले आफुहरुले कुटपिट गरी कसैलाई पनि घाइते नबनाएको बताए।