रातपरेपछि हात्तीको डर
राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिका–२ भलुवाही टोलका मगर दम्पति रातिको खाना खाएर सुतेका थिए । बाँसको नाङ्गलो बनाएर जिविकोपार्जन गर्ने पेशल मगर र श्रीमति जानकी मात्र घरमा थिए । दिदी घरमा एक्ली भएकीले जानकीले दुई छोरीलाई सुत्न उतै पठाएकी थिइन् ।
घरको काम सकेर बेलुकाको खाना खाएर सुत्ने बेलामा जानकीले जेठी छोरीको बेलैमा विवाह गर्न पाएकोमा खुशी जाहेर गरिन् । हुर्किरहेका बाँकी दुई छोरीलाई पनि समयमै असल केटा खोजेर विवाह गर्न पाए आफ्नो कर्तव्य पुरा हुने भन्दै श्रीमानसँग छलफल गरिन् । गरिबी र बढ्दो महंगीले घर धान्न गाह्रो भएपछि बुढेसकालको सहारा एउटा छोरा १४ वर्षकै उमेरमा मजदुरी गर्न ताप्लेजुङ्ग पुगेको थियो । लकडाउनले काम बन्द भएपछि कानेपोखरीसम्म हिंडेर आएका छोरालाई घर ल्याउने उपायको खोजी गर्दै दुखसुखका सपना सजाउँदै सुतेकी जानकी मस्त निद्रामा थिइन् ।
घरसल्लाह गर्दै अबेला सुतेका पेशलले भने गहिरो निन्द्रामा नपर्दै बोटविरुवा र घरहरु हल्लिएको आवाज सुने । मध्यराति आँगन घेरबेर गरेको बाँसको टाँटी ढ्याम्म ढल्यो । घरसमेत थर्किएपछि पेशलले श्रीमतिलाई उठाए । बिछ्यौनाबाट जानकी उठ्न खोज्दै थिइन्, घरको टाँट र माटो लेपिएको घरको भित्तामा जोडले हानेको आवाज आयो । त्यसपछि उनले गाउँमा हात्ती आएको चाल पाइन् ।
‘खम्बा हल्लियो र आँगनको टाँट उप्कियो,’ पेशलले सुनाए, ‘दुबै जना ढोकाबाट सँगै निस्कियौँ, उनले ढोका लगाउन थालिन् ।’ तीनवटा हात्तीले घर घेरेका थिए । भाग्न खोजेकी जानकीको पछाडि पनि हात्ती लम्किएर आयो उनी बीचमा परिन्, बल्ड्याङ खाँदै लडिन् ।
जानकीले मुश्किलले टाउको उठाउन खोजिन् । श्रीमान र छोराछोरी पुकारिन, गाउँलेलाई गुहारिन् । गाउँलेहरु भागाभाग गर्दै एउटा कुनामा थुप्रिए । टाढाबाटै होहल्ला गर्दै हात्तीलाई पुकारे । हल्ला र अनुनयको हात्तीलाई कुनै प्रभाव परेन् । सुँडले केश समातेर पछारेपछि खुट्टाले टाउकोमा किच्यो र अगाडि बढ्यो । तत्कालै जानकीलाई राजविराजस्थित अस्पताल ल्याइए पनि केही बेरमै उनको निधन भयो ।
केही पर गएर बलराम इशर र लक्ष्मण मण्डलको घरको भित्ता भत्काएर घरभित्र सुँड पसाएर खाधान्न निकाल्यो र केही खायो, केही भुईंमा छर्यो । वडा अध्यक्ष दुर्गानन्द भगतका अनुसार अघिल्लो साँझ गाउँको केरा वगानमा आएको हात्तीलाई युवाहरुले धपाएपछि टिकघारीतर्फ गएर बस्यो । रात परेपछि गाउँ पसेको हात्तीको समूहले उपद्रो मच्चाएर पुनः जङ्गलतर्फ लाग्यो ।
दुई सातादेखि सप्तरीको उत्तरी भेगको वस्तीमा दैनिक मध्यरात भएपछि कोशी टप्पु वन्य जन्तु आरक्षबाट आउने तीनवटा हात्तीको समूह गाउँ प्रवेश गरेर उपद्रो मच्चाइरहेको छ । जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिस रातभरी जाग्राम बस्छन् ।
चार दिनअघि अग्नीसाइर कृष्ण सवरण गाउँपालिका–२ मा चार जना दलितको घर तोडफोड गरेको हात्तीले बिहीबार राति वडा नम्बर ५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएर भर्खरै भित्र्याइएको अन्न र पशुआहारा खाइदियो । दिनभरी नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ पसेर घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको भलुवाहीका बाबुराम घिमिरेले बताए ।
हात्तीको समूहले दैनिकजसो बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्न थालेको छ । जङ्गली हात्तीको आतंक रोक्न पहल नभएकाले मानवीय र भौतिक क्षति बढदै गएको बताएका घिमिरेले लकडाउनमा बेरोजगार भइ आयश्रोत खोसिएको बेला हात्तीले गरिबकै घर र खाधान्न नष्ट गर्दा खाना र वासको समस्या एक साथ आइलागेको बताए ।