बारामा १४ वर्षीय बालक पनि कोरोना संक्रमित
बारा : बाराको बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका १४ वर्षीय बालकलाई कोरोना पुष्टि भएको छ । वीरगन्जको इनर्वामा ग्यास पसलको व्यवसाय गर्दै आएका बालकमा कोरोनाको संक्रमण देखिएको हो । योसहित बारामा संक्रमितको संख्या ३ पुगेको छ।
यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ७ र १९ का दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो।उनीहरु वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत छन्। मंगलबार संक्रमण देखिएका बालकको स्वाब वीरगन्जको छपकैयाबाट संकलन गरी परीक्षणका लागि पठाइएको थियो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बारा घरभइ वीरगन्जमा व्यवसाय गर्ने बालकमा कोरोना पुष्टि भएको जानकारी दिए।
कोरोना पुष्टि भएका बालकलाई वीरगन्जस्थित नारायणी अस्पताल पठाउन लागिएको प्रजिअ पण्डितले बताए । संक्रमित बालकको बलिरामपुरस्थित घरमा प्रहरी पठाइएको र परिवारका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रजिअ पण्डितले जानकारी दिए।