लयमा फर्किंदै सरकारी अस्पताल
धनगढी : धनगढीका गणेश विष्ट गर्भवती श्रीमती ल्याएर मंगलबार सेती प्रादेशिक अस्पताल आए। उनी दुई महिनादेखि गर्भवती चेकजाँचको पर्खाइमा थिए। मंगलबारबाट सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा सुचारु भएकाले उनी श्रीमतीलाई चेक गराउन सेतीमा आएका हुन्।
मंगलबारदेखि सुदूरपश्चिमका सबै अञ्चल र जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा बहिरंग विभाग (ओपीडी) सेवा सञ्चालनमा आएको छ।
‘कोरोनाको डरले श्रीमतीको नियमित चेकजाँच प्रभावित भएको थियो, हरेक तीन/तीन महिनामा गर्भवतीलाई चेकजाँच गराई राख्नुपर्छ। मंगलबार अस्पतालको ओपीडी खुलेको थाहा पाएपछि चेक गराउन आए’, विष्टले भने, ‘डाक्टरले सबै ठीकठाक छ भन्नुभएको छ।’
कैलालीकै जोशीपुरकी अनिता कुस्मीमा दुई वर्षका छोराको सोमबार हात भाँचियो। छिमेकीका बालबालिकासँगै खेलिरहेको छोराको हातमा सुजन आएपछि उनी, जोशीपुर स्वास्थ्यचौकी, घोडाघोडी अस्पताल हुँदै मंगलबार धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगिन्।
‘अस्पताल बन्द छ भनेर सुनेको थिएँ तर घोडाघोडीमा आजबाट अस्पताल खुल्ने थाहा पाएपछि सेतीमा आएकी हुँ’, अनिता कुस्मीले भनिन्, ‘दुई महिनापछि अस्पताल खुलेको देखेर खुसी लागेको छ।’
लकडाउनभन्दा दुई दिनअघि अथवा चैत ९ गतेदेखि सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा बन्द गरिएको थियो। प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल घोषणा गरेपछि, त्यहाँको इमरजेन्सीबाहेक सबै सेवा बन्द गरिएको थियो।
बालबालिकाका खोपका कार्यक्रम एक साताअघि नै सुचारु भएकोमा, मंगलबारदेखि ओपीडीसहित अस्पतालका, एक्सरे, अल्ट्रासाउन्ड, प्रयोगशालासहितका सबै सेवा सुचारु भएका छन्। ‘पुरानै ‘रुटिन’ अनुसार सेती प्रादेशिक अस्पतालको सबै सेवा मंगलबारदेखि सुचारु भएको छ’, मेसु डाक्टर हेमराज पाण्डेले भने।
सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिममा ९ वटै जिल्लाका बिरामी आउने गरेका थिए। यस अस्पतालको ओपीडीमा दैनिक अनुपातमा तीन सयभन्दा बढी बिरामी आउने गरेका छन्। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोनाका पाँचै जना बिरामी घर गएपछि, सबै सेवा सुचारु गरिएका हुन्।
‘एक्सरे, अल्ट्रासाउन्ट, प्रयोगशाला सेवा, सर्जरी र सबै विशेषज्ञले दिने सेवा सुचारु भएका छन्, भौतिक दूरी र ज्वरो मापन गरेर मात्र ओपीडीमा आउने व्यवस्था मिलाइएको छ’, मेसु डाक्टर पाण्डेले भने।
उनले पुरानै तालिकाअनुसार प्रादेशिक अस्पतालका सबै सेवा मंगलबारबाट सुचारु भएको बताए। सेती अस्पतालमा १० देखि १२ बजे र २ देखि ३ बजेसम्म डाक्टरले ओपीडी सेवा दिने गरेका छन्। ‘पहिला पनि यही तालिका हो, अहिले पनि पुरानै लयमा कामकाज सुरु भएको छ’, डाक्टर पाण्डेले भने।
सेती प्रादेशिक अस्पतालमा पहिलो दिनको ओपीडीमा करिब २ सय जनाले चेकजाँच गराएका छन्। सामान्य रोग पनि च्यापेर घरमै बसेका बिरामी, ओपीडी खुल्ने थाहा पाएपछि मंगलबार सेती प्रादेशिक अस्पताल पुगेका थिए। ‘५० दिनदेखिको सेवा सुचारु भयो भनेर धेरै खुसी लागेको छ। कोरोनाका कारण अरू सामान्य रोगको उपचार भइरहेको थिएन, अस्पताल खुले पनि आशा लाग्दो रहेछ’, सेती प्रादेशिक अस्पतालमा भेटिएकी बिरामी चन्द्रमा घर्तीमगरले भनिन्।
प्रदेशभरि कोरोनाका बिरामी पनि नभएको र ५० दिनदेखि मानिसहरू रोग पालेर बसिरहेकाले सबै सरकारी स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालन गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। सोमबार प्रदेशभरिका प्रादेशिक अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई मंगलबारबाट ओपीडी सेवा सञ्चालनका लागि अनुरोध गरिएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
‘इमरजेन्सीबाहेक अरू धेरै बिरामी अस्पतालको ओपीडी नै बन्द भएकाले, घरमै बसिरहेका थिए, धेरै निजी अस्पताल जान बाध्य थिए। त्यसैले कोरोनाका बिरामी पनि नभेटिएकाले, सरकारी अस्पतालको सबै सेवा मंगलबारदेखि सुचारु गरिएको हो’, स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने।
५० दिनदेखि बन्द भएका सरकारी अस्पताल पुरानै लयमा फर्किन थालेपछि बिरामी र आफन्त खुसी भएका छन्। स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको सबै सेवा सुचारु भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !