स्वाब परीक्षण नगरी घर पठाइएकाहरु पुनः क्वारेन्टाइनमा
राजविरा : स्वाब परीक्षण नगरी क्वारेन्टाइनबाट घर पठाइएका युवालाई मंगलबार पुनः क्वारेन्टाइनमा ल्याइएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका युवकसँगै चितवनबाट आएका अन्य १२ जना युवा र संक्रमित युवाको परिवारका तीन जनालाई पनि क्वारेन्टाइनमा राखिएको डाकनेश्वरी नगर प्रमुख शिवनारायण साहले बताए ।
उनीहरु सहित २३ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । युवा मजदुर १३ जनाको समूहमध्ये वैशाख २६ गते पीसीआर परीक्षणका लागि सातजनाको नमूना संकलन लिइएकोमा डाकनेश्वरी नगरपालिका-३ हटेलका १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरु सातजना र क्वारेन्टाइनमा बसेका अन्य तीनजनाको स्वाव परीक्षणका लागि धरान पठाइएकोमा आधिकारिक रिपोर्ट नआउँदै आइतबार घर पठाइएको थियो । युवा मजदुरको १३ जनाको समूहबाट ६ जनालाई भने वैशाख २२ गते आरडीटी परीक्षण गरेर घर पठाइएको डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य सहसंयोजक उमेश साहले जानकारी दिए ।
'भिटिएम र आरडीटी किटको अभावमा एउटा कोठामा बसेका मध्येबाट यात्रा विवरण र सम्पर्क सर्भेका आधारमा नमूना संकलन गरिएको थियो ।' स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने, 'सात जनासहित १० जनाको नमूना स्वाब लिएकोमा एकजनाको पोजिटिभ आएपछि परीक्षण गरिएकाको समेत पुनः परीक्षणका लागि स्वाब लिइएको हो।'
संक्रमित युवकसँग पठाइएका अरुहरुको रिपोर्ट सोमबार नेगेटिभ आए पनि मङलबार पुनः परीक्षण गर्न स्वाब लिइएको हो । संक्रमित युवा आइतबार घर गएर बसेपछि उनको परिवारका तीनजनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ।
उनीहरुको समेत स्वाब परीक्षणका लागि पठाइएको छ । डाकनेश्वरी नगरपालिका-५ पातोस्थित क्वारेन्टाइनमा पुगेका प्राविधिक स्वास्थ्यकर्मीको टोलीले संक्रमित युवकका आमा, हजुरआमा र हजुरबुवाको स्वाब संकलन गरे। उनीसँगै चितवनबाट आएका अन्य १२ जनाको पनि स्वाब संकलन गरिएको छ।
क्वारेन्टाइनमा सँगै कोठामा बसेका दुईजना, कपिलवस्तुबाट आएका तीनजना र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीसहित २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । स्वाब संकलन गरिएको २३ जनासहित ३१ जना उक्त क्वारेन्टाइनमा छन् ।
स्वाब लिइएकाको आधिकारिक रिपोर्ट नेगेटिभ नआउञ्जेल क्वारेन्टाइनमै राखिने निमित्त प्रमुख यादवले बताए । संक्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।