कालिकोटमा ४ सय ८१ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट 'नेगेटिभ'
कालिकोट : जिल्लामा ४ सय ८१ जनाको र्यापिड टेस्ट गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार बुधबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी कुल ४ सय ८१ जना मानिस र्यापिड टेस्ट गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार विदेबाट आएका तथा संकास्पद ठाउँबाट आएका मानिसलाई लक्षित गरी नमुनाका रुपमा र्यापिड टेस्ट गरिएको छ । उनका अनुसार र्यापिड टेस्ट गरिएका सबै मानिसको रिपोर्ट नेगेटिभ आएको छ ।
उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ५५, शुभकालिका गाउँपालिकामा ५०, सान्नीत्रिवेणी गाउँपालिकामा ५१, रास्कोट नगरपालिकामा ८२, पलाँता गाउँपालिकामा १२, पचालझरना गाउँपालिकामा ४६, नरहरीनाथ गाउँपालिकामा ६९, तिलागुफा नगरपालिकामा ३७ र महावै गाउँपालिकामा ८७ गरी जम्मा ४ सय ८१ जनाको र्यापिड टेस्ट गरिएको हो ।
जिल्ला भरी १९ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । कुनै पनि कोरोनाको लक्षण नभेटिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्ला बाहिरबाट व्यापक रुपमा मानिसहरु भित्रिएकाले जिल्ला बाहिरबाट भित्रिएका मानिसलाई लक्षित गरी र्यापिड टेस्ट गरिँदै आएको छ ।
नेपालगञ्जलगायतका मुलुकका विभिन्न सहरमा कोरोनाको संक्रमण बढ्दै गएका कारण जिल्लामा थप सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार प्रदेश सरकारको पहलमा जिल्लाका गाउँ गाउँमा परीक्षण सुरु गर्नुका साथै जिल्ला सदरमुकामका ५० बेडको आइसोलेसन बेडको तयारी गरिएको छ ।
पछिल्लो समय जिल्ला बाहिरबाट आएका मानिसलाई बस्नका लागि व्यवस्था गरिएका क्ववारेन्टाइन खाली हुँदै गएका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा हाल १५ जना मानिस मात्र क्वारेन्टाइनमा छन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ३ जना, पचालझरना गाउँपालिकामा ४ जना, सान्नीत्रिवेणी गाउँपालिकामा २ जना र नरहरीनाथ गाउँपालिकामा ६ जना मात्र क्वारेन्टाइन छन् । अन्य स्थानीय तहमा रहेका क्वारेन्टाइन खाली छन् । जिल्लामा हालसम्म १ हजार १ सय ५३ जना क्वारैनटाइनमा बसेर घर फर्किएका छन् ।