बैतडीमा आरडीटी कीट अभाव
बैतडी : बैतडीमा आरडीटी कीट अभाव भएको छ । यही वैशाख १८ गते सीमा नाका झुलाघाट र धार्चुलाबाट स्वदेश फर्किएका नागरिकको कोरोना परीक्षण गर्न कीट अभाव भएको हो । जिल्लाका विभिन्न स्थानीय तहमा १ हजार ३६५ जना क्वारेन्टाइनमा बसेका भएपनि २ सय ६५ जनाको परीक्षण गर्न कीट अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'हामीसँग भएको एक हजार एक सय कीट पुर्चौंडी र डिलाशैनीमा पठाएका छौं । अन्य स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिकको आरडीटी गर्नका लागि कीटको अभाव छ।'
पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ९११ जनाको आरडीटीका लागि कीट पठाइएको छ भने डिलाशैनी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि पनि कीट पठाइएको छ । तर डिलाशैनी पनि क्वारेन्टाइनमा बसेका नागरिकको द्रूत परीक्षणका लागि कीट आधा मात्रै पुग्ने डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताए ।
जिल्लामा कीट अभाव भएको बारेमा प्रदेश सरकारलाई जानकारी गराएपनि अहिलेसम्म कीट उपलब्ध हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।भारतबाट फर्केका नागरिकहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुग्न अब दुई दिन मात्रै बाँकी छ।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि कीटको अभाव भएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाका पनि आधा नागरिकका लागि मात्रै कीट उपलब्ध छ । भारतबाट फर्केकाले भने आफूहरु ३५ दिन भारतीय क्वारेन्टाइनमा बसेको र १४ दिन स्वदेशका क्वारेन्टाइनमा पुग्न लागेकाले परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ९११ जना क्वारेन्टाइनमा बसेका छन् भने त्यसपछि डिलाशैनी गाउँपालिकामा २२७ जना क्वारेन्टाइनमा बसेका छन् । दशरथचन्द नगरपालिकामा २४, पाटन नगरपालिका ८, मेलौली नगरपालिकामा ५ र पञ्चेश्वर गाउँपालिकामा ८ जना क्वारेन्टाइनमा बसेका छन् । यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदार गाउँपालिकामा २१, सिगास गाउँपालिकामा ९८ र शिवनाथ गाउँपालिकामा ३८ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।