बागमतीको अर्थतन्त्र खुम्चियो

बागमतीको अर्थतन्त्र खुम्चियो

काठमाडौं : मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको बागमती प्रदेशको अर्थतन्त्रमा ठूलो गिरावट आउने सरकारी अध्ययनले देखाएको छ। कुल गार्हस्थ उत्पादनको ३६.३५ प्रतिशत योगदान रहेको बागमती प्रदेशको आर्थिक वृद्धि १.२३ प्रतिशतमा सीमित रहने केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ। सहरीकरण, जनसंख्या, ठूला व्यापारिक कारोबारका कारण बागमती प्रदेश सबैभन्दा बलियो अर्थतन्त्र भएको प्रदेश हो। कृषि क्षेत्रमा पछि परे पनि औद्योगीकरण र बजारीकरणले बागमती प्रदेशमा आर्थिक क्रियाकलाप बढी हुने गरेको छ।

कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान पुर्‍याउने बागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम हुने आँकलन विभागको छ। गत वर्ष ६.४० प्रतिशत आर्थिक वृद्धि गरेको बागमती प्रदेशमा यसपटक १.२३ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ। बागमती प्रदेशको अर्थतन्त्रमा मुख्य योगदान रहेको थोक तथा खुद्रा व्यापार र खानी उत्खनन क्षेत्र प्रभावित छन्।

बागमती प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा ३६.३५ प्रतिशतको योगदान पुर्‍याएको थियो। गत आर्थिक वर्षमा यो प्रदेशको अर्थतन्त्र १२ खर्ब ५७ अर्ब रुपैयाँ थियो। संघीयता कार्यान्वयनको सुरुदेखि कमजोर क्षमताका सातवटा प्रदेशमा लकडाउनले आर्थिक क्रियाकलाप थप संकुचित पारेको छ। कोभिड १९ महामारीको प्रभाव नियन्त्रण गर्न देशभर लागू बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प छन्। परिणामतः गत आर्थिक वर्षको तुलनामा यो वर्ष सबै प्रदेशको आर्थिक वृद्धि दर घट्ने अनुमान सरकारको छ।

यसअघि तथ्यांक विभागले मुलुकको आर्थिक वृद्धि दर २.२८ प्रतिशतमा हुने अनुमान गरिसकेको छ। अघिल्लो आर्थिक वर्ष यो ६.९९ प्रतिशत थियो। गत आर्थिक वर्षमा सबैभन्दा ठूलो आर्थिक वृद्धि गरेको प्रदेश २ ले यसपालि वृद्धिदर २.२८ प्रतिशतमा सीमित रहने देखिएको छ।

प्रदेश १ को ३.४१ प्रतिशत, दुईको २.२८ प्रतिशत, गण्डकीको २.६८ प्रतिशत, प्रदेश ५ को २ प्रतिशत र कर्णाली प्रदेशको ३.५६ प्रतिशतले आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण छ।

‘राष्ट्रिय कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ अनुमान गरिएकोमध्ये सबैभन्दा बढी हिस्सा ३५.८४ प्रतिशत योगदान बागमती प्रदेशको हुनेछ’, प्रतिवेदनमा भनिएको छ। बाग्मतीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १३ खर्ब ५० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रदेश एकको १५.८२ प्रतिशत, दुईको १३.७८ प्रतिशत, गण्डकीको ८.९० प्रतिशत, प्रदेश पाँचको १४.१८ प्रतिशत, कर्णालीको ४.२७ प्रतिशत र सुदूरपश्चिमको ७.२१ प्रतिशत हिस्सा हुने अनुमान विभागले गरेको छ।

सबै प्रदेशको अर्थतन्त्र खुम्चिने आँकलन गरिरहँदा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा योगदान बढाउने देखिएको छ। यद्यपि आर्थिक वृद्धिमा भने संकुचन आउने नै देखिएको छ।

विभागको तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको योगदान ७.०१ प्रतिशतबाट बढेर ७.२१ प्रतिशतमा पुग्नेछ। यो प्रदेशको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान कृषि क्षेत्रको छ। त्यसपछि खानी तथा उत्खनन् क्षेत्रमा छ। शिक्षा क्षेत्रको दोस्रो हिस्सा समेटेको छ। गत आर्थिक वर्षमा ६.९ प्रतिशत आर्थिक वृद्धि गरेको सुदूरपश्चिमले यो वर्ष ४.०८ प्रतिशत मात्रै आर्थिक वृद्धि गर्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.