साक्षी बनाएका कार्यालय सहयागीलाई पुन: मुद्दा
काठमाडौं : घुस लिदालिदै पक्राउ परेका पचरौता नगरपालिका, बाराका कार्यालय सहयोगी (करार) ध्रुव महतो नुनियाविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदा लिदै कार्यालय सहयोगी महतो र इन्जिनियर रामप्रकाश सतरालाई पक्राउ गरेको थियो।
उनीहरुले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भवानीपुर बाराको कम्पाउण्डवाल निर्माणको कागजमा सही गर्नको लागि १५ हजार घुस लिएका थिए।
इन्जिनियर सतराले सहयोगी महतोमार्फत घुस लिएका थिए। महतोविरुद्ध २०७६ साउन १५ गते नै विशेष अदालतमा मुद्दा दायर भइसकेको छ।
महतोले भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारवाही गराउने कार्यमा अख्तियार लाई अनुसन्धानमा सहयोग पुर्याएको आधारमा सजायको मागदावीमा पूर्णरुपमा छुट दिई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो।
२०७६ माघ १५ मा वकपत्र गर्दा मौकाको कागज तथा अनुसन्धानको क्रममा गरेको वयान कागजको व्यहोरासमेतलाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको हुँदा महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागसहित विशेष अदालत, आरोप९पत्र दायर गरिएको छ।
त्यस्तै शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा नेपाल विद्युत प्राधिकरण हेटौंडाका इलेक्ट्रिसियन विश्वनाथ पुडासैनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
सेवा प्रवेशको क्रममा उनले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडाबाट कक्षा-८ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।