बाजुरामा फेला पर्यो कालाजार
बाजुरा : तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको पूर्वी उत्तरी क्षेत्रको जगन्नथा गाउँपालिकामा कालाजारका एक बिरामी फेला परेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजु राज जैशीले बताए ।
जगन्नाथ गाँउपालिका ५ का १७ महिने शिशु देबेन्द्र बुढालाई उपचारको लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदा चेकजाँचको क्रममा कालाजार देखा परेको डाक्टर जैशीले बताए । १ महिनादेखि गाँउमा धामी झाँक्री लगाइ उपचार गराउँदा बिरामी ठीक नभएपछि मात्र कोल्टी प्राथामिक स्वाथ्य केन्द्र ल्याएको जैशीले बताए । शिशुलाई प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार असम्भव भएपछि जिल्ला धनगढी रिफर गरेको भए पनि आफन्तले अस्पताल नलगेर घरमा लगेको उनले बताए ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । १७ महिनाका बालकलाई उपचार गर्न अन्यत्र लिनुपर्ने रहेको पन्तले बताए । 'कालाजार विशेषगरी तराईमा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसुनाको टोकाइबाट सर्ने रोग हो', उनले भने, 'यो रोगको लक्षण ज्वरो आउने, तौल घटने आदि हो । यसले कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु पनि हुन सक्छ ।' कालाजारको उपचार बाजुरामा नहुने र उपचारका लागि नेपालगञ्ज धनगढी जानु पर्ने स्वास्थ्यकर्मीले बताए।
कोल्टी क्षेत्रमा २ वर्ष पहिला कालाजारबाट एक जना बालिकाको मृत्युसमेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौंको कान्ति बालअस्पतालमा मृत्यु भएको थियो । गएको वर्ष थप दुई जना कालाजारका बिरामी भेटिएका थिए ।