प्रदेश २ बाट बागमती प्रदेश छिर्न कडाइ
हेटौंडा : प्रदेश २ बाट बागमती प्रदेश छिर्न उच्च कडाइ गरिएको छ । अत्यावस्यक सेवा वाहेक अन्य सवारी र पैदल यात्रुलाई प्रवेशमा रोक लगाइएको हो ।
प्रदेश २ बाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य नाका हेटौंडा १५ चुरियामाइमा सुरक्षा चेकपोस्ट खडा गरी चेकजाँचमा कडाइ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । ‘अत्यावस्यक सेवा दिने सवारीमा पनि चालक र सह चालकलाई मात्र आउन दिएका छौँ, अन्य यात्रुको हकमा जिल्ला प्रशासन कार्यालयले जरुरी भनेर पास दिएका वाहेकलाई प्रवेश रोक लगाइएको छ,’ उनले भने ।
अत्यावस्यक सेवाका सवारीमा पनि चालक र सहचालक वाहेक बोकेको पाइएमा फिर्ता पठाइएको राठौरले जानकारी दिए । बुधबार र बिहीबार गरी करिब २ सय बढी सवारीसाधन चुरियामाईबाट प्रदेश २ मै फर्काइएको मकवानपुर प्रहरीले जनाएको छ । मंगलबार बसेको कमान्ड पोस्टको बैठकले प्रदेश २ बाट मकवानपुर प्रवेश गर्ने सबै नाकाबाट प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । चुरियामाईसँगै मकवानपुरको पूर्वी राईगाउँ र बागमती पुलको बाटोमा समेत चेकचाँच काडाइ गरिएको छ ।
प्रदेश २ को पर्सा, बारा लगायत जिल्लामा कोरोना संक्रमित बढेपछि पैदल वा सवारी साधानमा मकवानपुरभित्र कोही पनि भित्रिन नदिन कडाइ गरिएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए । खाद्यान्न तथा अत्यावस्यक सामग्री बोकेको सवारी मकवानपुरको राजमार्ग भएर जान पाउने तर रोकेर यात्रु ओराल्न नपाउने उनले बताए । चुरिया भएर मकवानपुर प्रवेश भएको वा नभएको अनुगमन गर्न जनप्रतिनिधिसहितको नागरिक अनुगमन समितिसमेत गठन गरिएको छ ।
लकडाउन कडा
हेटौंडा बजारमा विना काम हिँड्न पनि रोक लगाइएको छ । भारतीय तरकारी बोक्ने सवारीलाई प्रवेशमा रोक लगाउनुका साथै हेटौंडा–१०, टीसीएनस्थित तरकारी बजारबाट बिक्रीवितरणमा रोक लगाइएको जिल्ला प्रहरी प्रमुख राठौरले बताए । मकवानपुरमा पछिल्लो समय सवारी साधन सञ्चालन र हिँडडुल गर्ने क्रम बढेको थियो ।