हाइब्रिड मकै बिउ उत्पादनमा कमी
झापा : झापाको गौरादहस्थित नमुना कृषि फर्मको ६ हेक्टर क्षेत्रफलमा लगाइएको मकैको बिउमा दाना कम लागेकाले माग अनुसारको हाइब्रिड बिउ उत्पादन नहुने भएको छ।
हाइब्रिड मकै बिउ उत्पादन गर्ने प्रयासमा भाले बिउ कम उम्रिँदा झापा गौरादहका किसान मर्कामा परेका छन्। पोथी बिउको धान चमरा धेरै समय रहँदैन। भाले बिउमा धानचमरा लाग्ने बेला गत महिना परेको असिना पानीले भाले बिउको परागसेचन हुन पाएन। जसका कारण बिउ मकैको उत्पादनमा कमी आयो।
राष्ट्रिय मकैबाली अनुसन्धानले पठाएको भाले बिउको उम्रने शक्ति नै कम भएको नमुना कृषि खेतीका संयोजक वेदनिधि चापागाईले बताए। उनले भने, ‘बिउ किन उम्रेन भन्ने प्राविधिक कुरा पनि हामीलाई पछि थाहा भयो। धानचमरा लाग्ने बेला पानीले चुट्नु पनि एउटा कारण हो। किनभने अरु कुनै समस्या थिएन। ९० प्रतिशत बिऊ नै उम्रिएन १० प्रतिशत मात्र उम्रियो।’
चापागाईले भने, ‘बिउ नउम्रिएपछि राष्ट्रिय मकैबाली अनुसन्धानबाट पुनः उक्त बिउ उखेलेर नयाँ बिउ छर्नका लागि पनि आह्वान गर्नुभयो तर लगाइसकेको मकै के उखेल्नु भनेर उखेलेनौं।’
उनका अनुसार भाले उम्रिन्छ कि उम्रिँदैन भनेर परीक्षण नगरी किसानलाई बिउ दिइयो। ‘यहाँ हामीले पनि परीक्षण नगरी ठूलो क्षेत्रफलमा लगायौं’, उनले भने, ‘यो सबै क्षेत्रको कमजोरी हो। सरकारले दिएको मकैमा हामी विश्वस्त भयौं।’
गत वर्ष एक हेक्टर लगाइएको उक्त बिउ उत्पादन राम्रो भएकाले यो वर्ष ६ हेक्टर जमिनमा लगाइएको थियो। ६ मध्ये एक हेक्टरमा लगाइएको बिउ नउम्रेपछि काटेर गाईलाई खुवाइयो। प्रतिहेक्टर २० केजी बिउ लाग्छ। जसमा १६ केजी पोथी बिउ हुन्छ। ४ केजी मात्र भाले बिउ लाग्ने गर्छ।
राम्रो फल्यो भने प्रतिहेक्टर तीन टन फल्छ। यसको बजार मूल्य १२ लाख रुपैयाँ पर्छ। तर, यसपालि प्रतिहेक्टर एक लाखको मात्र बिउ हुने सम्भावना छ। दाना एकदमै कमै मात्रामा लागेको छ। यद्यपि बिउ किन्नमा खर्च नलागे पनि खनजोत, मल, पानी, खेताला लगायतको खर्च एक हेक्टर बराबर २ लाख रुपैयाँ लगानी पर्ने गरेको उनीहरू बताउँछन्। राम्रो फल्दा ६ हेक्टरमा ६० लाख बराबरको मकै उत्पादन हुने थियो।
नेपालमा वार्षिक १० हजार टन हाइब्रिड मकैको बिउ आवश्यक पर्छ। तर नेपालको आफ्नो उत्पादन भने ४ टन मात्र रहेको छ। बाँकी बिउ बहुराष्ट्रिय कम्पनी मार्पmत नै आयात हुने गर्छ।नेपालमा ९ लाख ५८ हजार हेक्टर जमिनमा मकै खेती गर्न सकिन्छ। गत वर्ष उत्पादन भएको ४ टन हाइब्रिड मकै मध्ये झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले नमुना एकीकृत खेतीमार्फत २.२ टन मकै उत्पादन गरेको थियो।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्र्रमुख डा. केशवबाबु कोइराला भन्छन्, देशभरमा ४ टन उत्पादन भएको रामपुर हाइब्रिड – १० जातको मकै उच्च तापक्रम सहन सक्ने जातको बिउ हो। उक्त बिउमध्ये देशभरबाट २ स्थानमा मात्र बिउ मकै उत्पादन गरेको चापागाईले बताए। २.२ टन मकै गौरादहको नमुना कृषि फर्मले र बाँकी २.५ टन मकै लुम्बिनी सिड उत्पादन कम्पनीले गरेको थियो। नेपालमा विकास भएका हाइब्रिड मकैको उत्पादन प्रतिहेक्टर ७ देखि ९ टनसम्म रहेको छ।
हाइब्रिड बिउको माग अधिक रहेका कारण आपूर्ति गर्न समस्या छ भइरहेको लेखा समिति संयोजक हेमनाथ घिमिरेले बताए। उनले भने, ‘यसपालि झनै उत्पादन घट्यो।’ घिमिरेका अनुसार बिउको माग बढ्न थालेपछि झापा, मोरङ, सुनसरीलगायत जिल्लाबाट बिक्री हुँदै आएको थियो। इलाम, पाँचथर, सप्तरी, सिरहा, पर्सा, जनकपुरलगायतका जिल्लाबाट बिउको माग आए पनि आपूर्ति गर्न कठिन भएको छ।
नेपालको भौगोलिक हावापानी सुहाउँदो हाइब्रिड जातको मकैको बिउ नेपालमै विकास भइसकेकाले मकै उत्पादन बढाउन अब यसैलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरू बताउँछन्।
मकै विज्ञ कोइरालाका अनुसार मकैले धान चामर निकाल्ने समयमा ३८ डिग्री सेल्सियसभन्दा माथि भयो भने त्यो क्षमता मकैले सहन सक्दैन। रामपुर हाइब्रिड – १० को क्षमता ३८ डिग्री सेल्सियसभन्दा माथि हुन्छ। त्यसैले यसलाई हावापानीले त्यति प्रभाव पार्दैन। असिनाको कुरा अलग हो।
पछिल्लो समय कृषकको रोजाइमा नेपालमै उत्पादित हाइब्रिड मकै परे पनि उक्त बिउ नेपालमै आवश्यकता अनुसारको उत्पादन हुन नसक्दा किसानले बढी उत्पादन हुने बिउ प्रयोग गर्न पाएका छैनन्। आवश्यक अनुदानको व्यवस्था गरिदिने हो भने आगामी पाँच वर्षभित्रमा नेपाल हाइब्रिड बिउमा आत्मनिर्भर बन्न सक्ने कोइराला बताउँछन्।