लकडाउनमा खेतबारीमै व्यस्त किसान

लकडाउनमा खेतबारीमै व्यस्त किसान

कालिकोट :  जिल्लाका ग्रामिण समुदायमा लकडाउनले खेतबारीमा रमाउने किसानलाई छोएको छैन। आजभोलि कामको सिजन भएकाले किसान दिनहुँ खेतबारीमा भेटिन्छन् । कतै गहुँ काट्ने, कतै मकै छर्ने त कतै तरकारी गोडमेलको काम धमाधम चलिरहेको छ । बेला बेला पर्ने झरिले बरु गहुँ भित्र्याउन लागेका किसानलाई असर गरेको छ । 

 
'लकडाउन भनेर चुपचाप बसे बारी बाँझै हुन्छ, अनि भोकै मर्ने ? बारीमा मकै छर्दै भेटिएका हिरामणी पाण्डेले भने, 'हुनेखानेलाई घरभित्रै बसेर खान पुग्छ होला, किसानलाई यतिबेला बाम नगरे भोकै मरिन्छ ।'

उनले घर अगाडिको बारीमा गहुँ काटेर मकै छरेका छन् । लकडाउनले खाद्यान्न संकट हुने चिन्तामा रहेका किसान गहुँ काट्न व्यस्त छन् । बर्षेनि खडेरीको मारमा पर्ने यहाँका किसान यस वर्ष पटकपटक वर्षा भएपछि मनग्य रुपमा गहुँ भित्र्याउने भएका छन् । जिल्लाको पचालझरना गाउँपालिका ७ का किसान ऐमान बुढाले भने, 'पोहोर साल खडेरीले धेरै गहुँ फलेन । यस वर्ष पटक पटक पानी परेका कारण खेतमा डमक्कै गहुँ फलेका छन्। लडाउन भनेर घरमै बस्नेहो भने खेतमा गहुँ खेर जान्छ।'

गाउँमा पछिल्लो समय रोजगारीका लागि भारत गएका फर्किएपछि कोरोना गाउँ आउने हो कि भने डर पनि छ । जिल्लाको रास्कोट नगरपालिका २ का अगुवा किसान परिलाल न्यौपानेले भने, 'डराई डराईकन खेतमा तरकारी लगाउने र उत्पादन भएको तरकारी बिक्री गर्न जानुपर्ने बाध्यता छ , 'काम नगरी पनि हुँदैन।'

उनका अनुसार अहिले बारीमा उत्पादन गरेको तरकारी बजार लैजाने,  तरकारी गोडमेल गर्ने र नयाँ ब्याड राख्ने काम भइरहेको छ। दैनिकजसो आउने झरीले भने किसानको काममा अवरोध गरेको छ । पानी पर्दापर्दै पनि तरकारी बारीमा काम गर्ने गरेको उनको भनाइ छ । 

'गाउँमा सहरबाट आउनेले रोग ल्याउँछन् कि भन्ने चिन्ता छ । अनेक किसिमका हल्ला र समाचार सुन्दा पनि मनमा विभिन्न कुरा खेल्छन्। जिल्लाको तिलागुफा नगरपालिका १०का अगुवा किसान टेकबहादुर शाहीले भने, 'गाउँमा हामी किसान कोरोनाको त्रासमा लकडाउन नभनिकन खेतमा काम गरिरहेका छौँ। तर हामी आफ्नो खेतमा अरुलाई आउन दिँदैनौं र अरुको खेतमा हामी पनि जाँदैनौं।'

जिल्ला कृषि विकास कार्यालय प्रमुख भरत बस्नेतले यो वर्ष जिल्लामा गहुँबाली उत्पादनमा वृद्धि हुने अनुमान गरिएको बताए । उनले पछिल्लो समय लकडाउनका कारण भारतबाट आउने तरकारी रोकिएपनि यहाँका स्थानीय किसानकै उत्पादनले बजारमा प्रयाप्त मात्रामा तरकारी पुग्ने गरेको बताए । उनले भने,'बजारमा तरकारी प्रयाप्त छ । किसान लकडाउनमा पनि निरन्तर कृषि कर्ममा व्यस्त छन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.