सर्लाहीमा कोरोना संक्रमितको संख्या ३ पुग्यो
मलंगवा : सर्लाहीको रामनगर गाउँपालिका ४ की १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सर्लाहीको दक्षिणी क्षेत्र स्थित रामनगर गाउँपालिका ४ की १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।
युवतीले काठमाडौंको टेकु अस्पताल पुगेर आफैँ पीसीआर गराएकी प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । अहिले उनी काठमाडौंमै रहेको बुझ्नमा आएको प्रजिअ जिसीले जानकारी दिएका छन् । युवती बिचमा घर आएकी थिइन् कि थिइनन् भन्ने कुरा बुझ्न सुरक्षा निकाय गाउँमा पुगिसकेको छ । ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास पनि भइरहेको छ ।
यसअघि धनकौल गाउँपालिकाका १४ वर्षीय किशोर र हरिपुर्वा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।