मुख्यमन्त्रीसँग सिडिओको गुनासो : क्वारेन्टाइन रोगका घर भए

मुख्यमन्त्रीसँग सिडिओको गुनासो : क्वारेन्टाइन रोगका घर भए

परासी : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले कोरोना नियन्त्रणमा भइरहेका गतिवधिमा आफूले सहयोग पाउन नसकेको भन्दै गुनासै गुनासो राखेका छन् । कोरोना संक्रमणविरुद्ध स्थानीय तहले अहिलेसम्म सञ्चालन गरेका गतिविधि र समस्याका बारेमा जानकारी लिन शनिबार पश्चिम नवलपरासीको सुनवल पुगेका मुख्यमन्त्री पोखरेलसँग क्वारेन्टाइन व्यवस्थापनदेखि लकडाउन कार्यान्वयनमा आफूले सभासद्देखि राजनीतिक दलबाट सोचेअनुरुप सहयोग नपाउँदा समस्या भएको भन्दै प्रजिअ दाहालले गुनासो गरे ।

मुख्यमन्त्री पोखरेलसँग गुनासा राख्दै प्रजिअ दाहालले भने, 'माननीय मुख्यमन्त्रीज्यू मैले जिल्लामा भइरहेका कोरोना नियन्त्रणका उपाय र लकडाउनको अवस्थामा भइरहेका गतिविधिका बारेमा नढाँटी भन्नु पर्छ, जिल्लामा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित र सुरक्षित छैनन् । क्वारेन्टाइन रोग निम्ताउने घर भएका छन् । यसलाई व्यवस्थित गर्न जरुरी छ । ' 

दिनहुँजसो भारतबाट आउने नेपालीको संख्या बढ्दो भए पनि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । 'सरकारले भारतबाट आउनेलाई सीमामा होल्ड गरेर राख्ने र पीसीआर परीक्षणपछि मात्र सम्बन्धित पालिकाका क्वारेन्टाइन वा आइसोलेसनमा पठाउने भनेको छ । तर स्वास्थ्य सामाग्री कम हुँदा समस्या भएको छ',  प्रजिअ दाहालले भने । हप्ता दिनमा १ हजार बढी भारतबाट जिल्ला भित्रिएका छन् । जसमा ४ सयको पीसीआर गरेर पठाइएको र अन्यको स्वास्थ्य सामाग्री अभावमा परीक्षण गर्न समस्या भएको उनले बताए । 

जिल्लामा रहेका विभिन्न क्वारेन्टाइनमा अहिले ५ सय जना छन् । भारतबाट आउनेको संख्या बढिरहेकाले जिल्लामा ३ देखि ५ हजार बेडको व्यवस्थित क्वारेन्टाइनको आवश्यक रहेको उनले मुख्यमन्त्रीलाई जानकारी गराए ।  'क्वारेन्टाइन बनाउँदा लाग्ने खर्च बेरुजु देखिने भन्दै स्थानीय तहले गुनासो गरेका छन् । यसले पनि समस्या पारेको छ', उनले भने । जिल्लामा आइसोलेसन नहुँदा संक्रमित बढे झन समस्या हुने उनको भनाइ छ । जिल्लामा देखिएका एक संक्रमितलाई भैरहवा भीम अस्पताल पाठइएको छ ।
  
लकडाउन कार्यान्वयन पनि फितलो भएको उनको गुनासो छ । सभासद र राजनीतिक दलको सहयोग नपाउँदा लकडाउन कार्यान्वयमा समस्या भएको उनको तर्क छ । 'मुख्यमन्त्रीज्यू हजुरकै अगाडि प्रदेश सभासद्हरु बसिरहनु भएको छ । उहाँहरुले लकडाउनलाई किन कडाई गरेको भन्दै मेरै कार्यकक्षमा आएर औला ठडाउनुहुन्छ । कुन विषयमा कसरी बोल्नुपर्छ भन्ने हेक्का नराखी बौलिदिँदा समस्या भएको छ । यसरी मैले कसरी काम गरु ? ',  उनले गुनासो गरे ।

उनले जिल्लामा प्रहरीको संख्या कमी भएकाले पनि लकडाउन र क्वारेन्टाइनको सुरक्षामा केही चुनौती देखिएको बताए । नेपाली सेनालाई क्वारेन्टाइन व्यवस्थापनको जिम्मा दिन सके प्रहरीलाई सीमा र अन्य गतिविधिमा लगाउन सहज हुने उनको भनाइ छ । 'यसबारे मैले केन्द्रमा पनि सुझाव दिएको छु । नेपाली सेनालाई क्वारेन्टाइनको व्यवस्थापकीय जिम्मेवारी दिन सके काम गर्न सहज हुन्थ्यो ', उनले भने ।

प्रजिअका गुनासा सुनेपछि मुख्यमन्त्री पोखरेलले व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन जिल्ला स्तरीय कोरोना नियत्रण समिति मार्फत पालिकाहरुलाई निर्देशन  दिइने बताए । स्थानीयले तहले निर्माण गर्ने क्वारेन्टाइनको खर्च व्यवस्थापनबारे मुख्यमन्त्री पोखरेलले भने, 'क्वारेन्टाइनमा लागेको खर्च अभिलेखीकरण गरेर राख्नुस् । त्यसको सोधभर्ना केन्द्रीय कोभिड कोषले उपलब्ध गराउँछ । '  प्रहरीको संख्या देशभर नै कमि रहेको भन्दै मुख्यमन्त्री पोखरलेले प्रदेशको मातहतमा हुने काम प्रदेशबाटै र गर्न नसकिने काम संघीय सरकारबाट पहल गर्ने आश्वासन दिए । कोरोनाबाट बँच्ने एउटै औषधि सामाजिक दुरी रहेकाले लकडाउन कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए ।  

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरी, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्यहरु, जिल्लाका ७ वटै स्थानीय तहका प्रमुख, जिल्ला समन्य समितिका प्रमुख, स्वास्थ्य प्रमुख जिल्लास्थित सुरक्षा निकायलगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.