लिम्पियाधुरासहितको नक्सा मन्त्रिपरिषदमा
काठमाडौं : सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर मन्त्रिपरिषदमा लगेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारवणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रिपरिषदमा लिम्पियाधुरासहितको नयाँ नक्सासहितको प्रस्ताव लगेकी हुन्।
सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो। घोषणा गरेको दुई दिनमा सरकारले यो नक्सा तयार पारेर मन्त्रिपरिषदमा लगेको हो।
नापी विभागद्वारा तयार पारिएको लिम्पियाधुरासहित भूमि समेटिएको नक्सा बनाएर मन्त्रालय मन्त्रिपरिषदमा पारित भएमा सोमबार सार्वजनिक हुने मन्त्रालय स्रोतले जनाएको छ।
यो नक्सा बनेसँगै भारतले अतिक्रमण गरेका गुन्जी, नाबी, कुटी लगायतका स्थान नेपालको नक्सामा समेटिने छन्। भारतले अतिक्रमण गरेका लिपुलेक र कालापानी अहिलेको नेपालको नक्सामा छ। नेपाली भूमि कालापानीमा ६० वर्षदेखि भारतीय सेना बस्दै आएको छ।
भारतले गत कार्तिक १६ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भारतमा पारेर नक्सा जारी गरेपछि यसको विरोध हुँदै आएको थियो। यसअघि सरकारलाई संसदीय समितिले लिम्पियाधुरासहितको नक्सा जारी गर्न निर्देशन दिएका थिए।
वैशाख १६ भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरेको थियो। भारतलाई त्यो भूमि नेपालको भएको भन्दै भारतलाई कुटनीतिक नोट पनि दिइसकेको छ।