बागलुङका १ सय ९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
बागलुङ : जिल्लाको गलकोट क्षेत्रमा मजदुरी गरेर पर्सा घर फर्किएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गलकोटमा गरिएको स्वाब संकलनको सबैको पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएको छ ।
गलकोट नगरपालिकाको वडा नम्बर ३ का २६ जना र वडा नम्बर ५ का २९ जना गरि ५५ जनाको स्वाब संकलन गरिएकोमा आइतबार राति सबैको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।
पर्साबाट गलकोट क्षेत्रमा मजदुरी गर्न आएकामध्ये केही निर्माण क्षेत्र, केही फर्निचरलगायतमा लामो समयदेखि काम गर्दै आएका थिए । उनीहरु गत वैशाख ११ गते गलकोटबाट नगरपालिकाको सहयोगमा बसमा पर्सा गएको १४ मजदुरमा १७ दिनपछि क्वारेन्टाइनमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो ।
चैत्र तेस्रो साता दुई कोरोना संक्रमित पुष्टि भएसँगै आंतकित भएको बागलुङ वैशाख दोस्रो साता निको भएपछि ठूलो जोखिम टरेको स्थानीय र सरोकारवालाको अनुमान थियो । तर, देशव्यापी रुपमा बढेको संक्रमित संख्या, बागलुङ जिल्लाको गलकोटबाट पर्सा गएका १४ मजदुरलाई कोरोना संक्रमण पुष्टि भएपछि फेरी जिल्लाभर संशय बढेको थियो ।