गृहको लिखित आदेश कुर्दै प्रशासन
झापा : नेपाल भारत सीमा क्षेत्रमा आएर अलपत्र परेका नेपालीलाई सोमबार ल्याउने भनेर जिल्ला समन्वय समिति झापाको आयोजनामा प्रदेशका कानुन मन्त्री हिक्मत कार्की समेतको उपस्थितिमा २ दिनअघि बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको थियो । सीमा क्षेत्रमा आएर रोकिएका नेपालीमा पनि नेपाल छिर्न पाइन्छ कि भन्ने एउटा झिनो आशा पलाएको थियो ।
यही विषयमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले संघीय सरकारबाट कुनै आदेश नआएकोले ल्याउन नसकेको बताए । उनले भने, ‘ दुई देशबीचको अन्तर्राष्ट्रिय कुरामा मौखिक निर्णयको अर्थ हुँदैन । संघीय सरकारको आधिकारिक आदेश नआइ ल्याउने बारे कुनै पहल गर्न सकिंदैन ।’
सर्वपक्षीय बैठकमा प्रदेश सरकारका कानुन मन्त्री कार्कीले नेपाल र भारतबीचको सहमतिअनुसार नेपालमा भएका भारतीयलाई पारि र भारतमा भएका नेपालीलाई वारि ल्याउने जनाएका थिए ।
बैठकले अलपत्र सबैलाई सोमबार ल्याएर जिल्लाका विभिन्न क्वारेन्टाइन र होल्डिङ्ग प्वइन्टमा राख्ने निर्णय गरेको थियो । ‘१ हजार क्षमताको क्वारेन्टाइन जिल्लामा तयार छ । सीमा क्षेत्रमा १ हजारको संख्यामा नेपालीहरु आएको बुझिएको छ । भारतका अन्य स्थानबाट नेपालीहरु बोर्डरसम्म हिँडेर आउने क्रम पनि जारी छ’, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भने, ‘माथिको आदेश आएपछि ल्याउने पहल गर्ने छौँ । पश्चिम बंगाल सरकारले पनि पठाउन मिल्दैन । उनीहरूले पनि केन्द्रसरकारको लिखित पत्र नआइ केही गर्न नसकिने बताएका छन् ।’