अतिक्रमित वन क्षेत्र फिर्ता गरियो
दाङ : दाङमा अतिक्रमण गरिएको करिव चार हेक्टर वन क्षेत्र फिर्ता गरिएको छ । डिभिजन वन कार्यालय दाङले आफ्नो क्षेत्रमा अतिक्रमण भएको वन फिर्ता गरेर संरक्षण गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १ मा रहेको जनता सामुदायिक वनमा विगतदेखि अतिक्रमण भएको करिव चार हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सीले जानकारी दिए ।
केसीले डिभिजन वन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय तुलसीपुरबाट सोमबार गएको टोलीले करीब ४ हेक्टर जग्गामा भएको अतिक्रमण हटाइ उक्त जग्गामा एक हजार रनिंग मिटर काडेतारले तारबार गरी वन क्षेत्रको संरक्षण गरिएको बताए ।
जनता सामुदायिक वनका ३-४ जना उपभोक्ताले खेतिपाती गर्ने उद्देश्यले उक्त वन क्षेत्र अतिक्रमण गरेर प्रयोग गरेको पाइएपछि टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको थियो । उक्त क्षेत्रमा स्थानीयले खेती सुरु गरिसकेका थिए ।
उक्त वन क्षेत्र कसले अतिक्रमण गरेको भन्ने किटानी नभएको तर ४ घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनीहरुको यथाशीघ्र पहिचान गरी सामुदायिक वनको स्वीकृत कार्य योजना र विधान बमोजिम घटनामा संलग्नलाई कारवाही गरी डिभिजन वन कार्यालयलाई जानकारी गराउन सव डिभिजन प्रमुख तथा समूहका पदाधिकारीलाई निर्देशन दिइएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताए । दाङमा वन क्षेत्रको अतिक्रमण बढी नै रहेको छ । क्रमिक रुपमा अतिक्रमित वन क्षेत्र खाली गराउँदै जाने योजनासमेत कार्यालय अघि सारेको अधिकृत ज्ञवालीले बताए ।