सेनाको स्वास्थ्य सामग्री आज आइपुग्दै
काठमाडौं : नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेमध्ये १७ टन स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुग्दै छ। सेनाले नेपाल वायु सेवा निगमको जहाज सोमबार साँझ चीनको ग्वान्झाउ पठाएको छ।
ग्वान्झाउस्थित भन्सार कार्यालयले हवाई माध्यमबाट पहिलो लटमा ल्याउन लागिएको १७ टन स्वास्थ्य सामग्रीलाई क्लियरेन्स दिइसकेको छ। हवाई माध्यमबाट दोस्रो लटमा ल्याइने स्वास्थ्य सामग्रीको भन्सार क्लियरेन्सको काम जारी छ। दोस्रो लटमा ल्याइने स्वास्थ्य सामग्रीको क्लियरेन्ससमेत छिट्टै दिने चिनियाँ अधिकारीहरूले सेनालाई खबर दिएको छ।
पहिलो लटको स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज सोमबार साँझ ग्वान्झाउ गएको छ। स्थलमार्गबाट झन्डै ३० टन स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै शनिबार काठमाडौं आएको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले हवाई माध्यमबाट आउने पहिलो लटको स्वास्थ्य सामग्री मंगलबार आइपुग्ने बताए। पाण्डेले अन्नपूर्णसँग भने, ‘स्थलमार्गबाट केही स्वास्थ्य सामग्री आइसकेको छ। दोस्रो लटको स्वास्थ्य सामग्रीसमेत चाँडै आउँछ।’
पहिलो लटमा हवाई माध्यमबाट मंगलबार कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि परीक्षण किट, मास्क, पीपीईलगायत अत्यावश्यक सामग्री आउनेछ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको सेनाले पहिलो लटमा १७ टन स्वास्थ्य सामग्री मंगलबार ल्याउन लागेको हो।
सेनाले स्वास्थ्य सामग्री खरिद गर्न वैशाख ७ गते चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’लाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर (२ अर्ब २० करोड रुपैयाँ) अग्रिम भुक्तानी गरेको थियो। चिनियाँ भन्सार कार्यालयले क्लियरेन्समा कडाइ गरेपछि सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल ल्याउन ढिलाइ भएको हो।