भारतबाट आएका थप ९ जना संक्रमित
झापा : झापाको कचनकवल गाउँपालिकामा थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ९ जनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कचनकवलकै क्वारेन्टाइनमा रहेका एकजनामा सोमबार साँझ १ जनामा कोरोना संक्रमण देखिएको थियो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।
१० जना संक्रमित व्यक्ति केही दिनअघि भारतबाट आएका थिए । भारतको मुम्बई र दिल्लीमा रोजगारीका लागि गएका कचनकवलका युवाहरु भारतका विभिन्न शहरबाट सीमा नाकामा आएर अलपत्र पर्ने क्रम जारी छ । संक्रमित युवाहरुको समुह पनि भोकभोकै बसेको देखेपछि उनीहरुलाई भारतिय सीमा प्रहरी एसएसबी र नेपाल पक्षका सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा नेपाल आएका हुन् ।
सीमा नाका पूर्ण रुपमा ठप्प भएका बेला संक्रमित व्यक्तिसँगै अरु पनि नेपाल प्रवेश गरेका थिए । 'भोकभोकै बोर्डरमा अलपत्र अवस्थामा देखेपछि हामीले आपसी समझदारीमा नेपाल ल्याइएको हो', गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने , ‘उक्त ३० जनाको समुहलाई कचनकवल गाउँपालिकाको वडा नम्बर ४ कद्दुभिट्टाबाट ल्याएको थियो ।’ उनीहरु मुम्बईमा बसेर मजदुरी गर्ने गाउँपालिकाकै नागरीक हुन् । करिब १ सय किलोमिटर बाटो भोकभोकै हिँडेर बोर्डरसम्म आइपुगेका आलमले बताए ।
संक्रमितसँगै आएका समुहलाई कचनकवल ३ नम्बर वडाको पथरिया उच्च माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।