कोरोना परीक्षण केन्द्र स्थापनामा विवाद
सुर्खेतः कर्णालीमा कोरोना परीक्षण केन्द्र स्थापनामा विवाद उत्पन्न भएको छ । पछिल्लो समय भारतबाट भित्रिन थालेका कर्णालीबासीलाई लक्षित गरी स्थापना गर्ने भनिएका परीक्षण केन्द्र र क्वारेन्टाइन निर्माणमा विवाद देखिएको हो । विवादकै कारण प्रदेश सरकारले अगाडि बढाएको परीक्षण केन्द्र र क्वारेन्टाइनको कामसमेत अन्यौलमा परेको छ ।
पछिल्लो समय भारतबाट कर्णालीबासी भित्रिन थालेका छन् । भारतमा मजदुरीका लागि गएकाहरु सीमा नाकासम्म आएपछि प्रदेश सरकारले उद्दार पनि सुरु गरेको छ । कर्णाली भित्रिने मुख्य नाका बबईमा क्वारेन्टाइन र परीक्षण केन्द्र स्थापना गर्ने र भारतबाट भित्रिएकाहरुको आरडीटी परीक्षण गरेर मात्र प्रवेश गराउने योजना प्रदेश सरकारले बनाएको छ ।
बबईमा उपयुक्त जग्गा नभेटिएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुमा परीक्षण केन्द्र स्थापनाको तयारी गरिएको थियो । तर छिन्चुमा स्थानीयले भारतबाट आएकाहरुसँग कोरोना पनि भित्रिने भन्दै विरोध गरेपछि नगरपालिकाले नै क्वारेन्टाइन र परीक्षण केन्द्रका लागि नगर क्षेत्रमा जग्गा उपलब्ध गराउन नसकिने जनाएको छ । नगरपालिकाले नै परीक्षण केन्द्र र क्वारेन्टाइन स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउन नसकिने भनेपछि थप अन्यौलता उत्पन्न भएको हो ।
प्रदेश सरकारले अब भारतबाट भित्रिनेहरुको आरडीटी परीक्षण गरेर मात्रै प्रवेश दिन निर्णय गरेको छ । परीक्षण केन्द्र स्थापनाका लागि सामाजिक विकास मन्त्री दल रावल र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीसहित सुरक्षाकर्मीको टोली बबईमा आवश्यक जग्गाको खोजीमा पुगेको थियो । तर निकुञ्ज क्षेत्र पर्ने बबईमा उपयुक्त जग्गा नभेटिएपछि आफूहरुले भेरीगंगा नगरपालिकाको छिन्चुमा प्रस्ताव गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । कम्तिमा एकसय टेन्ट राख्नुपर्ने भएकाले छिन्चु बजार नजिक रहेको शारदा मावि, मदानेचौर र स्वास्थ्य चौकीको खाली जग्गामा परीक्षण केन्द्र स्थापना गर्ने योजना प्रदेश सरकारको छ ।
कर्णाली सरकारले छिन्चुमा कोरोना परीक्षण केन्द्र स्थापना गर्ने र रिपोर्ट नेगेटिभ आएमात्र गाउँ पठाउने तयारी गरे पनि भेरीगंगा नगरपालिकाले विरोध जनाएको छ । ‘भारतबाट आएकाहरुसँगै कोरोना आउने भन्दै स्थानीयले आन्दोलन नै गरे’, मेयर भुपेन्द्रबहादुर चन्दले भने, ‘जनताको विरोध थेग्न नसकेपछि हामीले पनि यहाँ क्वारेन्टाइन र परीक्षण केन्द्र स्थापना गर्न नदिने निर्णय गरेको हौं, प्रदेश सरकारले पनि हामीसँग समन्वय नगरी स्थापना गर्न खोज्दा समस्या आयो ।' उपप्रमुख रेणु आचार्यले बिच बजारमा भारतबाट आएकाहरुलाई राखेर कोरोना परीक्षण गर्न स्वाव संकलन गर्नु राम्रो पक्ष नभएको बताइन् ।
‘बबईस्थित नदीको किनारामा चौर खनेर भए पनि परीक्षण केन्द्र बनाऔं’, आचार्यले भनिन्, ‘आफूखुसी स्थानीय तहसँग समन्वय नगरेर बिच बजारमा बाहिरबाट आएकाहरुलाई राख्नु न्याय संगत हैन ।’ स्थानीयको विरोधपछि क्वारेन्टाइन र परीक्षण केन्द्र स्थापनाको जिम्मा पाएको नेपाली सेनाले काम रोकेको छ । मेयर चन्दले भने,‘हामीले प्रदेश सरकार र जिल्ला प्रशासनलाई यहाँ हुँदैन भनेर जानकारी गराइसकेका छौं, अहिले सेनाले काम पनि रोकेको छ ।’ तर प्रदेश सरकारले भने स्थानीय तहसँग आवश्यक समन्वय गरेर समस्याको निकास खोजिने जनाएको छ । महामारीमा कसैले पनि असहयोग गर्न नहुने प्रदेश सरकारको भनाइ छ ।