राप्ती स्वास्थ्य प्रतिष्ठानले कोरोना संक्रमितको मात्र उपचार गर्ने
दाङ : राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाहेकको उपचार नगर्ने भएको छ। प्रदेश नम्बर ५ मा कोरोनाको संक्रमण उच्च भएपछि प्रतिष्ठानलाई कोरोना उपचारमा महत्व दिन अन्य उपचार हाललाई बन्द गरिएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।
कोरोनाबाहेकको उपचारका लागि अन्य अस्पतालमा जान अनुरोधसमेत उनले गरेका छन्। कोरोना भाइरस संक्रमितको स्वास्थ्य उपचारमा केन्द्रित हुँदै प्रतिष्ठानले बुधबारदेखि अस्पतालको बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेको हो।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार प्रतिष्ठानले प्रदान गर्दै कोरोना भाइरस उपचारबाहेक सम्पूर्ण बहिरङ्ग तथा अन्तरङ्ग सेवा बन्द गरेको हो। कोरोना संक्रमितको उपचारका लागि चिकित्सक खटिनुपर्ने भएकाले सबै उपचार सेवा बन्द गरिएको रजिष्ट्रार देवले बताए।
प्रतिष्ठानले कोरोनाका बिरामीका लागि आईसीयू वेड तयार गरेको यसअघि नै जानकारी गराइसकेको छ भने पीसीआर माध्यमबाट कोरोना परीक्षण गरिरहेको छ।