१५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो
झापा : झापामा बिहीबार बिहान १५ जनामा थप कोरोना संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या २७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित सबै कचनकवल गाउँपालिकाका हुन्।
उनीहरु सबै लकडाउनकै बीचमा सीमा क्षेत्रबाट नेपाल छिरेका थिए। संक्रमितहरु गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए। जिल्लामा यसअघि दमक र बाह्दशीमा दुईजनामा संक्रमण देखिएको थियो।
उनीहरु सबै भारतको मुम्बई र दिल्लीलगायत विभिन्न शहरमा रोजगारीका लागि गएर फर्किएका हुन्। संक्रमित युवाहरु सीमा नाकामा आएर अलपत्र परेका थिए। सीमा क्षेत्रमा आएर भोकभोकै बस्न थालेपछि भारतीय सीमा प्रहरी एसएसबी र नेपाल पक्षका सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा उनीहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाका प्रमुख अञ्जार आलमले जानकारी दिए।
१४४.२ किलोमिटर सीमा क्षेत्र भारतसँग खुल्ला नाका छ। कचनकवल गाउँपालिकामा कोरोना संक्रमण देखिएकै दिन १ सय नेपाली नागरिक गाउँपालिका भित्रका बोर्डरबाट नेपाल भित्रिएका थिए। त्यो सँगै अहिले १६५ जना कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन्।
झापाका प्रमुख जिल्ला अधिकारी उदयराना मगरले भने, ‘भारतमा रेल सञ्चालनमा आएर लकडाउन केही खुकुलो बनाएसँगै नेपालीहरु सीमामा आउने क्रम तीव्र छ।’ सुरक्षित व्यवस्थापन गरिएन भने यसले भयानक रुप लिन सक्छ।' उनले भने, ‘हामीलाई अहिलेसम्म सीमामा अलपत्र परेका नागरिक ल्याउने कुरामा संघिय सरकारबाट कुनै निर्देशन आएको छैन।’
यता पूर्वी नेपालको काँकडभिट्टा पानीट्यांकी सीमा नाकामा महिनौदेखि अलपत्र परेका नेपालीहरुलाई ल्याउन गृह मन्त्रालयले लिखित निर्देशन नदिएपछि दुवै देशका सुरक्षाकर्मीहरुले आपसी समझदारीमा थोरै थोरै संख्यामा नेपालीहरु मेची पुलमुनि नेपाल प्रवेश गरेका छन्।काँकडभिट्टामा रहेको नेपाल-भारत जोड्ने मेचीपुल मुनिबाट नेपाल आउँदै गरेका नेपाली
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भने, ‘भारतले उताबाट छोड्दिएपछि ल्याउनुपर्ने बाध्यता छ। उनीहरु आफ्नै देशका नागरिक हुन्। नेपाल छिरिसकेका नागरिकलाई कसरी फेरि भारतै पठाउनु ?’ उनले भने, ‘जिल्लामा मंगलबार र बुधबार गरेर २ दिनमा करिब ६ सय नेपाली नेपाल प्रवेश गरेका छन्। त्यसरी नेपाल आएकालाई जिल्लाका मेची क्याम्पस र कलबलगुडी प्रशिक्षण केन्द्रमा रहेको क्वारेन्टाइनमा राखिएको छ।’
प्रहरी प्रमुख कोइरालाले भने, ‘बुधबार मात्र भारतबाट आएकामध्ये १६१ जनाको आरडिटि टेष्टको लागि पठाइएको छ। उनीहरुको बिहीबार आउने रिर्पोटका आधारमा सम्बन्धित पालिकाहरुमा पठाउने काम गरिने छ।’
संक्रमित देखिएको क्षेत्र कचनकवल गाउँपालिकाका ७ वटै वडा बुधबारदेखि जेठ ११ गते सम्मका लागि सिल गरिएको छ। बुधबारै गाउँपालिकाबाट थप ६५ जनाको स्वाव टेष्टका लागि पठाइएको छ। कचनकवलमा देखिएका संक्रमितलाई विराटनगर स्थित कोभिड अस्पताल लगिएको छ।