झगडा मिलाएर फर्कदै गरेका असईको बाटैमा मृत्यु
ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-७ खेवाङ प्रहरी चौकीका ईञ्चार्ज असई बालकुमार राईको मृत्यु भएको छ। गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका ४२ वर्षीय राईको बुधबार राति बाटैमा मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
सिदिङ्वा गाउँपालिका- ७ सुरुम्खिममा भएको झगडा मिलाएर फर्कँदै गरेका उनी तावाखोला नजिक आई पुगेपछि अचानक बिरामी परेका थिए। त्यसपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगेका उनले त्यसपछि बान्ता गर्न थालेको र केही समयमै उनको मृत्यु भएको खबर आफुलाई प्राप्त भएको प्रजिअ निरौलाले जानकारी दिए।
अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका राई केहि महिना अघि मात्र प्रहरी ईञ्चार्ज भएर खेवाङ पुगेका थिए।