मदिराको मातमा आफ्नै घरमा आगो लगाएपछि...
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाको एक व्यक्तिले मदिराले मातेर आफ्नै घर जलाएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर हुकुर्थुम डाँडाका शिव भनिने सुरजबहादुर कुमालले लगाएको आगोबाट उनको घर गोठ दुवै पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
कुमाल गाउँमा मदिराले मातेर घरमा आइ श्रीमती राधिका र छोराछोरीलाई कुटपिट गर्न थालेपछि उनीहरु भागेका थिए । परिवारका सदस्यलाई घरबाट लखेटेपछि सुरजले आफ्नै घरमा आगो लगाएको पाइएको खर्बाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताए । उनका अनुसार, आगलागीबाट घर गोठ जल्दा २ लाख ४५ हजार बराबरको क्षति भएको छ ।
मदिरा पिएको विषयमा सम्झाउन खोज्दा उल्टै आफूहरुलाई पिट्न थालेपछि भागेर ज्यान बचाएको श्रीमती राधिकाले बताइन् । 'गाउँबाट रक्सी खाएर आउनुभएको थियो, सम्झाउन खोज्दा रिसले चुर भएर म र छोराछोरी सबैलाई पिट्न थाले,' राधिकाले भनिन्, 'हामी त बल्लतल्ल जोगियौ तर घर गोठ जलाउनु भएछ, आगोको ज्वाला देखेर फर्किँदा घर जलेर नष्ट भयो।'
घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानीयले घर भित्रैबाट उद्धार गरेका थिए । बुधबार राति ९ बजे लगाइएको आगो प्रहरी र स्थानीयको सक्रियतामा राति ११ बजेपछि मात्रै नियन्त्रणमा लिइएको थियो । खरको छानो भएको घर र गोठ एकै ठाउँमा भएकाले पशु चौपाया बाहेक अरु लत्ताकपडा,भाँडाकुडा केही जोगाउन नसकिएको कुमालकी श्रीमती राधिकाले बताइन् ।
आफ्नै घर गोठ जलाउने कुमाललाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीचौकी खर्बाङमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक न्यौपानले जानकारी दिए । यस वर्ष बडिगाडको वडा कार्यालयको खरको छानो विस्थापित गर्ने कार्यक्रम अन्र्तगत टिनको छाना लगाउने गरी तयार गरिएका सबै काठसहित सिँगो घर गोठ नै जलेपछि कुमाल परिवार बिचल्लीमा परेको छ।
उनीहरुले दैनिक रुपमा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । कुमाल दम्पतीका छोरा र १ छोरी छन् । जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरे पनि अहिले बन्दाबन्दीले आफै समस्यामा परेका छन् भने घरमा रहेका छोरा छोरी साना भएकाले चिन्ता थपिएको राधिकाले बताइन्।
अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्बाङले त्रिपालसहित सहयोग गरेको अध्यक्ष होमनाथ अर्यालले जानकारी दिए ।