लकडाउनमा संकटका सारथी बन्दै मनोज
काठमाडौं : बूढानीलकण्ठ निवासी मनोज श्रेष्ठलाई लकडाउनमा भ्याइनभ्याइ छ। प्राय सबै घरमै बसिरहेका बेला उनी भने बिहानदेखि बेलुकीसम्म संकटमा परेकालाई सेवा दिनमै व्यस्त हुन्छन् । कहिलेकाहीँ दिनमा १९, २० घण्टासम्म पनि खटिनुपर्दा उनी थकित महशुस गर्छन्।
नेपाल सरकारअन्र्तगतको बूढानीलकण्ठ क्षेत्र विकास समितिका पूर्वसदस्य सचिवसमेत रहिसकेका मनोज दैनिक आफै कार चलाएर लकडाउनमा समस्यामा परेका मानिसलाई सुविधा दिइरहेका छन् ।
विशेषगरी बिरामी, सुत्केरी, महिला बालबालिका, वृद्धवृद्धालगायतलाई उनले आफ्नै गाडीमा राखेर अस्पताल तथा अन्य गन्तव्यसम्म पुर्याउँदै आएका छन्।बूढानीलकण्ठ निवासी एक महिलालाई अत्याधिक रक्तश्राव भएपछि उनले बिहीबार राति ती महिलालाई ठमेलस्थित मनमोहन अस्पतालमा पुर्याएर भर्ना गरिदिए । राति करिब ९:२५ मा ती महिलालाई अस्पताल पुर्याएर उनी घर फर्किँदा झन्डै १० बजिसकेको थियो ।
उनकै घरमा बस्ने एउटा भाइ दुर्घटनामा परेपछि लकडाउनका कारण अस्पताल लैजान उनले गाडी पाएनन् । त्यसपछि मनोजले महानगरीय प्रहरी प्रभाव बूढानीलकण्ठसँग समन्वय गरेर आफैले गाडी चलाए र आपतमा परेकालाई सेवा दिन सुरु गरे । उनले गत वैशाख २ गतेदेखि मानवीय सेवा शीर्षकमा पास बनाएर समस्यामा परेका व्यक्तिलाई यातायातको सुविधा दिन थालेका हुन् ।
उनको सेवाले विशेषगरी डायलासिसका बिरामीले राहत पाएका छन् । बूढानीलकण्ठ वडा नं २ मा बस्ने नुवाकोटका दिल बहादुर तामांग मनोजको गाडीमा बसेर डायलासिसका लागि बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा पुगेको १४औं पटक भइसकेको छ ।
'तपाईंलाई नभेटेको भए म त जान्छुकी जस्तो लागेको थियो सर,' पछिल्लो पटक तामांगले अस्पतालबाट घर फर्कने क्रममा मनोजलाई यसै भनेका थिए । मिर्गौलाकै अर्का एक बिरामीले हात्तिगौडादेखि भक्तपुर क्यान्सर अस्पतालसम्म डायलासिसका लागि जान एम्बुलेन्सलाई बोलाउँदा पैंतिस सय नभइ जान मानेन । मनोजले थाहा पाएर ती बिरामीलाई भक्तपुरस्थित अस्तपालसम्म ल्याउने मात्र होइन, अस्पतालबाट पुन घर पनि पुर्याइदिए ।
त्यसैगरी उनले सेवा दिएकामा प्रसूति अवस्थाका महिला पनि पर्छन् । सुत्केरी हुने अवस्थामा रहेका ती महिलालाई उनले बूढानीलकण्ठस्थित स्वास्थ्य चौकीसम्म पुर्याइ दिने गरेका छन् । बिरामीमा केही जटिलता देखिएमा वा सल्यक्रिया गर्नुपर्ने भएमा उनीहरुलाई थापाथलीस्थित प्रसूति गृहसम्म पनि पुर्याइदिन्छन्।
यी बाहेक दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल पुर्याउने, राहतका लागि आएका वृद्धवृद्धा र असक्तलाई घरसम्म पुर्याइ दिने, पसलसम्म आएर औषधि लिन नसक्ने व्यक्तिको घरघरमा औषधि पुर्याइदिने काममा पनि उनी सक्रिय रहेका छन् ।
एक दिन यस्तै सेवा दिएर घर फर्कने क्रममा उनले शिक्षण अस्पताल अगाडिको बाटोबाट महाराजगन्जतिर जाँदै गरेका एक दम्पत्तीलाई देखे । प्यारालाइसिस पनि भएका ती बिरामीलाई डायलासिस गराएर उनकी पत्नीले ह्विलचेयरमा बसुन्धारास्थित आफ्नो कोठामा लैजाँदै थिइन् । त्यो दृष्यले मनोजलाई आफ्नो बुबा बिरामी हुँदा आमाले नाम्लोले बोकेर ट्याक्सी पाउने ठाउँसम्म पुर्याएको बिगत सम्झायो । यही घटनाले पनि आफूलाई यो काममा उत्प्रेरित गरेको उनले बताए ।
अरुलाई सेवा दिने क्रममा उनले आफ्नो सुरक्षालाई पनि त्यति नै ध्यान दिने गरेका छन् । उनले सकेसम्म पीपीई, मास्क, पन्जा र स्यानिटाइजर लगाएरै हिँड्ने गरेका छन् । आफूले सेवा दिने ब्यक्तिलाई पनि पहिले ज्वरो आएको छ की छैन भनेर नापेर मात्रै गाडीमा बसाउने गर्छन् । ज्वरो आएको भेटिएमा प्रहरी प्रभावमा समन्वय गरेर स्वास्थ्य चौकीमा पुर्याउने गरेको उनले बताए ।
स्यानिटाइजर के हो उनलाई थाह थिएन । नेपालमा पनि कोरोनाका बिरामी देखिन थालेपछि अमेरिकामा बस्ने उनकी दिदीले स्यानिटाइजर प्रयोग गर्नुपर्छ भनेर भाइलाई सिकाइन् । दिदीले भनेअनुसार नाम टिपेर औषधि पसलबाट उनले स्यानिटाइजर किने र प्रयोग गर्न थाले । त्यसैगरि दिदीसँगै रहेकी आफ्नी आमाले चिन्तित हुँदै आफूलाई सुरक्षित राख्नु र समस्यामा परेका व्यक्तिको सेवा गर्नु भनेपछि उनको हौसला झन बढ्दै गयो ।
उनको गाडीमा तेल हाल्न दैनिक तीन, चार हजार खर्च हुन्छ । तर बूढानीलकण्ठका स्थानीय समाजसेवी र अन्य व्यक्तिले आफ्नो कामको प्रशंसा गर्दै दिने केही सहयोगले तेल खर्च जुटिरहेको मनोजले बताए ।
समाजसेवामा जुटिरहेका मनोजकी पत्नी पाँचौ महिनाकी गर्भवती छिन् । पत्नी र हुनेवाला बच्चालाई असर नपरोस् भनेर घरमा बुढाबुढी समेत छुट्टाछ्ट्टै कोठामा बस्ने गरेको उनले बताए । घरमा पत्नी, बहिनी र विदेशमा बस्ने आमा दिदीले चिन्ता गर्दा गर्दै पनि मनोज मानवीय सेवामा खटिरहेका छन् ।
उनी बूढानीलकण्ठ नगरपालिका ३ का बासिन्दा हुन् । आफ्नो वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रेरणाले समाजसेवामा लागेको उनले बताए । लकडाउनलाई सफल पार्न वडा नं ३ ले विभिन्न योजना बनाउँदै वडामा बस्ने बासिन्दालाई ग्यास, खाद्यान्न, राहत, दैनिक भोजन, औषधि, स्वास्थ्य उपचारलगायतका सुविधा दिने गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
यही क्रममा युवा समाजसेवी मनोजले पनि वडाका क्रियाकलापमा सघाउनुका साथै आफै चालक बनेर बिरामीलाई अस्पतालसम्म पुर्याउने काम गरेकोमा प्रशंसा गरे । प्रशंसा मात्र होइन, वडाअध्यक्ष श्रेष्ठ स्वयं पनि आवश्यक परेकालाई अस्पताल पुर्याउन र अन्य सहयोग जुटाउन मनोजसँगसँगै उनको गाडीमा हिँड्ने गरेका छन् ।