खलंगामा तीन सय बेडको क्वारेन्टाइन बनाइँदै
जाजरकोट : कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जाजरकोट सदरमुकाम खलंगामा तीन सय बेड क्षमताको क्वारेन्टाइन बनाउने तयारी थालिएको छ । संक्रमित जिल्ला र भारतबाट आएकालाई राख्नको लागि क्वारेन्टाइन बनाउन लागिएको हो ।
जिल्लाका सातवटै पालिकाले जिल्ला सदरमुकाम खलंगामा तीन सय बेडको संयुक्त क्वारेन्टाइन निर्माण गर्न थालिएको हो । जिल्ला समन्वय समितिको पहलमा सदरमुकाममा बसेको स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, स्वास्थ्य लगायतका सरोकारवाला निकायको बैठकले तत्काल सदरमुकामस्थित त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसमा तीन सय जना बस्न मिल्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए ।
बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न भारत र अन्य जिल्लाबाट आएका तथा ल्याउनुपर्ने नागरिकको स्वाब परीक्षण गरेर मात्र घर पठाउने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थापना गरिने तीन सय बेडको क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतको संयोजकत्वमा प्रत्येक पालिकाले आ-आफ्ना पालिकाका प्रभावित नागरिकको जिम्मेवारी लिनेगरी एक-एक जना स्वास्थ्यकर्मी र एक-एकजना सम्पर्क व्यक्ति परिचालन गर्ने निर्णय गरिएको संयोजक रावलले बताए ।
सदरमुकाममा स्थापना गरिने क्वारेन्टाइनको क्षमता भन्दा बढी भारत तथा अन्य जिल्लाबाट आउने नागरिकको संख्या भएमा सम्बन्धित पालिकाको केन्द्रमा यथासम्भव क्वारेन्टाइन निर्माण गरी राख्ने निर्णय समेत गरिएको छ ।
क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वास्थ्य परीक्षणमा अपुग भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा (पीपीइ सेट) सामाग्री लगाएतका अन्य स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालयको परामर्शमा सम्बन्धित पालिकाले खरिद तथा व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
निर्णय सँगै नेपाली सेना र शसस्त्र प्रहरीका जवान क्वारेन्टाइन निर्माणमा जुटेका छन् । तर स्थानीयले सदरमुकाममा जिल्लाभरका मानिस राख्ने कुराको विरोध गरेका छन् । कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले सम्बन्धित पालिकामा नै क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेका छन् ।
भेरी नगरपालिका ३ का निमबहादुर डाँगीले सदरमुकाममा जिल्लाभरका मानिसलाई राख्दा कोरोनाको संक्रमण फैलने भन्दै निर्णयको विरोध गरे । उनले सम्बन्धित स्थानिय तहमा नै क्वारेन्टाइनको व्यवस्था गरी स्वाब संकलन गर्ने प्रबन्ध मिलाउनुपर्ने बताए । भेरी नगरपालिका ३ का वडाध्यक्ष लिलाबहादुर शाहले थाप्लेचौरमा मात्र क्वारेनटाइन बनाउने निर्णय गलत भएको बताए । निर्णय नसच्याएर क्वारेन्टाइन निर्माणमा अवरोध गर्ने चेतावनी दिए ।