भारतबाट फर्केका पुरुषमा कोरोना संक्रमण
बारा : भारतको आदापुरबाट नेपाल आएका बाराका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ। आदापुरस्थित क्वारेन्टाइनमा बसेर नेपाल आएका पचरौता नगरपालिका १ पिपरपातीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
रोजगारीका लागि भारत पुगेका उनको आदापुरस्थित क्वारेन्टाइनमा रहेका बेला स्वाब परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट नआउँदै उनी जेठ ५ गते आदापुरबाट नेपाल आएका थिए।
पिपरपातीस्थित नाकाबाट नेपाल प्रवेश गर्न खोजेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय क्वारेन्टाइनमा राखेको थियो। पचरौता नगरपालिका पिपरपातिस्थित क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी आदापुरबाट आएपछि उनलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी गरिएको छ।
बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले आदापुरबाट स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी आएपछि उनलाई कलैया ल्याउने तयारी गरिएको बताए। `पुरुषलाई कोरोना संक्रमण देखिएको भन्दै खबर आएपछि उनलाई कलैया ल्याउन लागिएको छ´ मिश्रले भने `कलैया ल्याएर आइसोलेसनमा राखेर पुन : पिसिआर परीक्षण गर्छौँ।´
नेपालमा बिहीबार बिहानसम्म ४४४ जना संक्रमित देखिएका थिए।