अव्यवस्थित क्वारेन्टाइन बसाइले संक्रमणको जोखिम बढ्यो
कपिलवस्तु : भारतबाट आएका सर्वसाधारणलाई सीमा क्षेत्रका अव्यवस्थित क्वारेन्टाइनमा राखिदा कोरोना संक्रमण फैलने त्रास बढेको छ । यहाँ बनाइएका क्वारेन्टाइन अव्यवस्थित र मापदण्ड विपरितका छन् । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ अनुसार क्वारेन्टाइन कोठामा ७ फिटको फरकमा बेड तयार गरी २ जनासम्म राख्नुपर्ने व्यवस्था छ । तर, जिल्लाका अधिकांश क्वारेन्टाइनमा एउटै कोठामा १० जना बढी सर्वसाधारण राखिएका छन् ।
अझ पछिल्लो समयमा कोरोना संक्रमण फैलिएको भारतका विभिन्न सहरबाट आएका सर्वसाधारणलाई सीमा क्षेत्र नजिकैका विद्यालयमा एउटै कोठामा करीब १० जना बढीलाई राखिएको छ ।
महाराजगंज नगरपालिका ७ गगौडामा क्वारेन्टाइन बस्नुपर्ने सर्वसाधारण बगैचामा खटिया राखेर बसेका छन् । १० वटा खटियासँगै जोडिएको अवस्थामा राखेर उनीहरु बस्ने गरेको र आफूहरुले सामाजिक दूरी कायम राख्न निर्देशन गर्दा अटेर गर्ने गरेको महाराजगंज नगरपालिकाका एक स्वास्थ्यकर्मीले बताए ।
नगरपालिका क्षेत्रभित्र ४८ वटा क्वारेन्टाइनमा १ हजार ६ सय ३२ जना छन् । सबै क्वारेन्टाइनमा प्रहरी ड्युटी नहुँदा क्वारेन्टाइनमा मनोमानी ढंगले बस्ने, घर परिवारलाई क्वारेन्टाइनमै भेटघाट गर्ने, घरबाट खाना मगाएर सँगै बसेर खाने गरिएको छ ।
जिल्लाका क्वारेन्टाइनको अवलोकन तथा अनुगमन गर्दा मापदण्ड अनुसारको व्यवस्थापन नपाइएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशन लाल चौधरीले बताए । 'यहाँका क्वारेन्टाइनमा मुख्यरुपमा सामाजिक दूरी कायम गरिएको छैन, स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले भने, 'एउटा संक्रमितले क्वारेन्टाइनका अधिकांशलाई संक्रमण फैलाउने अवस्था छ ।'
'कोरोना भाइरस संक्रमण रोक्न जिल्लामा क्वारेन्टाइनको संख्या विस्तार र मापदण्ड अनुसारको व्यवस्थापन जरुरी छ,' उनले भने । क्वारेन्टाइनमा रहेकाले अनिवार्यरुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने हुन्छ । तर त्यसको सबैले प्रयोग गरिएको देखिँदैन । दिनको ४ पटक पोषिलो खानेकुरा खुवाउने पर्छ तर अधिकांश क्वारेन्टाइनमा बसेकाले २ छाक मुस्किलले खाना खान पाएका छन् । जिल्लामा ७ हजार ६ सय १ जना क्वारेन्टाइनमा छन् ।