क्वारेन्टाइनमा किरिया !
बैतडी : बैतडीका एकजना क्वारेन्टाइनमै किरियामा बसेका छन्। मेलौली नगरपालिका ७ पच्कोराका रामसिंह रावत आफ्ना बुवाको किरिया क्वारेन्टाइनमा बसेका हुन्।
भारतको मुम्बईमा काम गर्दै आएका रावत यही जेठ ४ गतेदेखि मणिलेक मावि मेलौली क्वारेन्टाइनमा बसेका हुन्। रावतका बुवा प्रतापसिंह रावतको बिहीबार बिहान निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया गरेका हुन्। उनले भने, ‘बल्लतल्ल स्वदेश फर्कन पाएँ। तर अन्तिम पटक बुवाको मुख हेर्ने धोको अधुरै रह्यो। कोरोनाका कारण बुवासँग अन्तिम पटक भेट हुन पाएन्।’
जेठ ४ गतेदेखि मणिलेक मावि मेलौलीको क्वारेन्टाइनमा बसिरहेका रावतले बुवा बिरामी भएको खबर पाए पनि कोरोनाको जोखिमका कारण भेटघाट गर्न पाएनन्। केही दिन अघि भारतको पलियाबाट उद्धार गरिएका रावत नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका हुन्। ‘भारतको मुम्बईबाट गाउँमा पुगेको थिए। तर क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले बुवासँग अन्तिम पटक भेट हुन पाएन्’, उनले भने, ‘अन्तिम समयमा पनि बुवाले मलाई खोजी रहनु भएको थियो रे ! के गर्नु ? अहिले क्वारेन्टाइनमै किरियाकर्म गरिरहेको छु।’
रामसिंह रावतले क्वारेन्टाइनमै किरिया कर्म सुरु गरेको उनीसंगै क्वारेन्टाइनमा बसिरहेको मेलौली ७ का किशोर कार्कीले बताए। कोरोना भाइरसको जोखिम कारण भारतबाट उद्धार गरेर ल्याएका सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको र उनीहरुको दुई हप्तापछि आरडीटी गरेर मात्रै घर पठाउने तयारी भएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। यद्यपि क्वारेन्टाइनमै किरिया बसेका रावतलाई भने आरडीटी गरेर घर पठाउने वा क्वारेन्टाइनमा राखेर किरिया गर्न दिने विषयमा छलफल भइरहेको उनले बताए।
भारतबाट फर्केका नागरिकमा देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण देखिएकाले भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राखिएको चन्दले जानकारी दिए। मेलौली नगरपालिकाले मणिलेक माविमा सञ्चालन गरेको क्वारेन्टाइनमा भारतबाट फर्केका १६ जना बसेका छन्।
किरियापुत्रीलाई स्वदेश ल्याउने पहल जारी
बैतडीसंग सीमा जोडिएको भारतको झुलाघाटमा गएको ९ दिनदेखि किरियामा बसेका ४ जना किरियापुत्रीलाई स्वदेश फर्काउने पहल जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासनका तर्फबाट ८ दिन अघि पिथौरागढस्थित डिएम कार्यालयलाई पत्र पठाइसकेको भएपनि भारतीय पक्षको निर्णय नहुँदा किरियापुत्रीलाई स्वदेश फर्काउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
भारतीय क्वारेन्टाइनमा दुई बुवा गुमाएका, एकजना आमा गुमाएका र एकजना श्रीमती गुमाएका गरी ४ जना किरियामा बसेका छन्। क्वारेन्टाइनमै किरियामा बस्नुपर्दा निकै समस्या भएको उनीहरुले बताएका छन्।
बैतडीको सुर्नया गाउँपालिका राजेन्द्रप्रसाद भट्ट र तारा भट्टका बुवा बितेपछि उनीहरु भारतीय क्वारेन्टाइनमै किरियामा बसेका हुन्। सीमा नाकाबाट स्वदेश फर्कन नपाएपछि भारतीय क्वारेन्टाइनमै किरियामा बस्नुपरेको उनीहरुले बताएका छन्।
यस्तै पुर्चौैंडी नगरपालिका ७ का ठगी साउद पनि आफ्नी आमाको किरिया भारतीय क्वारेन्टाइनमै बसेर गरिरहेका छन्। यस्तै सिगास गाउँपालिका ९ का कृष्णसिंह धामी पनि आफ्नी श्रीमतीको किरिया भारतीय क्वारेन्टाइमै बसेर गरिरहेका छन्।