नवलपरासीमा एकै दिन थपिए ३ कोरोना संक्रमित, आइसोलेसन नहुँदा बिरामी राख्‍न अन्यौल

नवलपरासीमा एकै दिन थपिए ३ कोरोना संक्रमित, आइसोलेसन नहुँदा बिरामी राख्‍न अन्यौल

परासी : आइसोलेसन नहुँदा पश्चिम नवलपरासीमा देखिएका कोरोना संक्रमित बिरामीलाई राख्न अन्यौल देखिएको छ । शुक्रबार मात्र जिल्लामा एक किशोरीसहित ३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसन बनाउनेतर्फ भने वास्ता गरिएको छैन । आइसोलेसन नहुँदा यसअघि देखिएका २ संक्रमितलाई भैरहवास्थित भीम अस्पताल पठाइएको थियो । 

आइसोलेसन नहुँदा अहिले देखिएका संक्रमितलाई कहाँ राख्ने भन्ने बारे अन्यौल भएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।' जिल्लामा आइसोलेसन नहुँदा समस्या देखिएको छ । नयाँ संक्रमितलाई कहाँ पठाउने भन्ने विषयमा छलफल हुँदै छ, 'उनले भने।

संक्रमितलाई भैरहवा र बुटवल पठाउने भनिए पनि त्यहाँ बेड अभाव हुँदा पठाउन नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । प्रदेश सरकारले हरेक जिल्लामा २ सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने जनाएको छ । तर स्थानीय तहमा त्यसको व्यवस्थापनका लागि कुनै सहयोग नगरेकाले आइसोलेसन बनाउन समस्या भएको स्थानीय तहका प्रमुखको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले पाल्ही बहुमुखी क्याम्पस र शहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा १÷१ सय बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । तर अहिलेसम्म बन्न सकेको छैन ।

प्रदेश सरकारले आइसोलेसन बनाउने आश्वासन दिएपनि अहिलेसम्म स्पष्ट निर्देशन र व्यवस्था नगर्दा समस्या भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए । एकै पटक १ सय बेडको आइसोलेसन बनाउन स्थानीय तहलाई समस्या हुने भन्दै नगरप्रमुख शर्माले छिमेकी स्थानीय तहले साझेदारी गरे सहज हुने तर्क गरे । 'जिल्लास्तरीय संकट व्यवस्थापन समितिले १ सय बेडको बनाउने निर्णय गरेको छ । तोकिएको अस्पतालमा ५० भन्दा बढी बनाउन सकिन्न । हामीले अहिले सामुदायिक अस्पतालमा १० बेडलाई व्यवस्थित गराउन थालेका छौं, 'शर्माले भने ।

शुक्रबार नगर क्षेत्रमा २ जना संक्रमित फेला परेका छन् । आइसोलेसन नहुँदा उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । पाल्ही बहुमुखी क्याम्पसमा १ सय बेडको आइसोलेसन राख्न जिल्ला स्तरमा निर्णय भएकाले भवनको अनुगमन गरी काम अघि बढाइने उनले बताए । 'पहिला क्याम्पसले दिन्छ की दिँदैन त्यसबारे बुझ्छौं । उपलब्ध भए तत्काल ३५ बेड राखेर आइसोलेसन सञ्चालन गर्छौं। सिसीटिभी र अन्य व्यवस्थापन गर्न केही दिन लाग्छ,' नगरप्रमुख गुप्ताले भने । प्रदेश सरकारले आइसोलेन बनाउन भने पनि व्यवस्थापनका लागि स्पष्ट निर्देशन नदिदा अन्यौल भएको गुप्ताको भनाई छ । 

पश्चिम र पूर्वी नवलपरासीमा ४ संक्रमित

पश्चिम र पूर्वी नवलपरासीमा शुक्रबार ४ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । जसमा पश्चिम जिल्लामा ३ र पूर्वी जिल्लामा १ जना छन् । पश्चिम जिल्लामा संक्रमित हुनेमा रामग्राम नगरपालिका-३ घोडपालीका ३३ वर्षीया पुरुष र वडा नं. १८ पम्फापुरकी १५ वर्षीया किशोरी छन् । 

उनीहरु सदरमुकाम परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका हुन् । अर्का सुस्ता गाउँपालिका-५को बेलवानी क्वारेन्टाइनमा रहेका ३५ वर्षीया पुरुष छन् । उनी सोही वडाका हुन् । यसअघि सोही वडा र क्वारेन्टाइनमा बस्ने २६ वर्षीया पुरुषमा कोरोना देखिएपछि भीम अस्पताल भैरहवा पठाइएको छ । 

त्यसैगरी पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ को क्वारेन्टाइनमा बस्ने सोही वडाका ४५ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको छ । उनलाई भरतपुर कोरोना अस्पताल पठाइएको स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले जानकारी दिए ।

योसंगै पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेका संख्या ५ पुगेको छ । भने पूर्वी जिल्लामा ३ पुगेको छ । दुवै जिल्लामा देखिएका संक्रमित भारतबाट आएका हुन् । शुक्रबार बिहानसम्म पश्चिम जिल्लामा क्वारेन्टाइनमा बस्नेको ७ सय ५७ र पूर्वी जिल्लामा १ सय ७५  छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.