कैलालीमा भद्रगोल क्वारेन्टाइन

कैलालीमा भद्रगोल क्वारेन्टाइन

धनगढी : सिमेन्टको सेतो बोराभित्र पुराना लुगा कोचिएर बनाएको सिरानी। भुँइमा पातलो तन्ना। जेठको महिनाको ३८ डिग्रीको तापक्रम। गर्मीमा लखतरान भएर पल्टिएका थिए, डडेल्धुराको भागेश्वर गाउँपालिकाका मनिराज गिरि। उनी साथीसहित भारतको नासिकबाट बुधबार धनगढी आइपुगेका हुन्।

चारपाँच दिनदेखि टन्न खान नपाएको शरीर। अनी तराईको उखरमाउलो गर्मी र स्कुलको भवनको बास। उनको अनुहारमा निरासा झल्किन्थ्यो । तीन दिनको भारतको पलियाको 'म्यारिज ब्युरो' (विवाह गर्ने धर्मशाला) को क्वारेन्टाइनको बसाई पछि आफ्नो देश जान पाउनुपर्छ भनेर भारतमै प्रदर्शन गरेर उनीसहित ८५० जना नेपालीको टोली बुधबार दिउँसो गौरीफन्टा बोर्डर पुगेको हो । 

पलियामा क्वारेन्टाइन बसेका झण्डै तीन हजार नेपाली बुधबार सडकमा प्रदर्शनमा उत्रिएपछि भारतीय प्रहरीले धान्न नसकेर उनलाई बोर्डरतिर पठाइ दिएको थियो। भारतीय प्रहरीले गरेको लाठी चार्जबाट दुई÷तीन दर्जन नेपाली घाइते समेत भए।  तर, उनीहरु भारतीय प्रहरीले हानेको डन्डाभन्दा पनि देश टेक्न पाएकोमा खुसी देखिन्थे । 

'नासीकबाट बोर्डरमा पुग्न दुई दिन लाग्यो, तीन दिन पलिया क्वारेन्टाइनमा बसियो,' कैलालीको भन्सार छेवैमा रहेको नवदुर्गा माविको क्वारेन्टाइनमा बसेका बसेका गिरीले भने,' पेटभरी खान पाएको छैन।'

भन्सार छेउमा रहेको नवदुर्गा माविमा राखिएका ६ सय भन्दा बढी मानिसमध्ये आधा बिहीबार बेलुकीसम्म भोकभोकै आ-आफ्नो स्थानीय तहतिर गइसकेका छन्। तर स्थानीय तहले गाडीको व्यवस्था नगरिदिएका तीन सय बढी भने स्कुलको क्वारेन्टाइनमै बसेका छन्।

'खानेकुराको अभाव छ, पानी पनि नल्कामा राम्रो आउँदैन । नुहाउने धुने कुरा त परै जाओस, गिरिसँगै रहेका बाजुराको बढीगंगा नगरपालिका २ बजेडीका कविराज जोशीले भने,' पलियामा भारतीय प्रहरीले चलाएको लठ्ठीले बुवाको खुट्टमा घाउ भएको छ ।'

कविराजका ७० वर्षका बुवा मनिराम जोशी पनि भारतको राजधानी नयाँदिल्लीको आदर्शनगरमा वाचमेनको काम गर्छन् ।
'भारतमा वाचमेन पनि गर्थे हजुर, खाना आफै पकाएर खाने गरेको छु । अब त्यहाँबाट हिँडेको पाँच दिन भयो, केही खाएको छैन, चाउचाउ र बिस्कुट दिएका थिए, त्यस्तो कुरा म खान्न, घरजाने कुनै टुंगो छैन ।'

प्रदेश सरकारले कोरोना कोषका लागि भनेर ४० करोड रकम विनियोजन गरेको छ भने नीजि क्षेत्रले पनि त्यसमा सहयोग गरेको छ ।  तर, सीमा नजिकका क्वारेन्टाइनमा कुनै पनि गतिलो व्यवस्था छैन । सीमा नजिकका क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिलाई राखिने र सम्बन्धित पालिकाले गाडी पठाएपछि गन्तव्यतिर पठाउने व्यवस्था गरिएको थियो।
'दुई÷तीन जना भात पकाउने मानिस राखि दिएको भए यसरी भारतबाट भोकभोकै आएका मानिसहरु खान त पाउँथे, सरकारको जयजयकार गर्थे, तर बाहिर जान्छन् की भनेर रोक्ने प्रहरी बाहेक अरु कोही पनि सरकारका मान्छे आउँदैनन्,' बाजुराको बुढीगंगा १० का परमानन्द जोशीले भने।

सीमा क्षेत्रको क्वारेन्टाइनमा बस्न र खानाको मात्रै होइन, त्यहाँबाट सम्बन्धित स्थानीय तहसम्म जानका लागि पनि धेरैले त दोब्बर तेब्बर भाडा तिर्नु परेको छ। 'गाडी मगाएको त, चितवनसम्मको भाडा चार हजार भन्यो, सम्बन्धित पालिकाले गाडी कहिले पठाउँछ थाहा छैन, कसैले पनि गाडी यतिबेला आउँछ, यती दिन क्वारेन्टाइन बस्नुस् भनेर कुनै पनि जानकारी दिँदैन,' भारतबाट फर्केका चितवनका युवक हिमाल दवाडीले भने ।

'विद्यालयका कोठामा पंखा छैन, ३८ डिग्रीको गर्मी छ, लामखुट्टे पनि त्यस्तै कसरी सुत्नु कोठामा ? हामी त रातभरी चउरमा बसेर रात बिताएको,' सर्खेतका प्रकाश कडेलले भने ।

क्वारेन्टाइनको जिम्मा स्थानीय तहलाई दिइएको छ । सरकारले क्वारेन्टाइन निर्देशीका पनि जारी गरेको छ । त्यसमा, हरेक क्वारेन्टाइनमा मेडिकल अफिसर हुनुपर्ने, त्यहाँका व्यक्तिहरुको दैनिक ज्वरो मापनसहितको स्वास्थ्य जाँच गर्नुपर्ने, दिनमा दुईपटक खाना र दुई पटक नास्ता समय अनुसार दिनुपर्ने, खानेपानी, स्थानगृह र शौचालयको व्यवस्था हुनुपर्ने, क्वारेन्टाइन बेडको दूरी कम्तीमा पनि तीन मिटर हुनपर्ने जस्ता मामदण्ड तोकेको छ । 

तर, धनगढी उप-महानगरपालिकामा पर्ने सीमा क्षेत्रकै क्वारेन्टाइन अस्तव्यस्त छन् । स्थानीय तह र प्रदेश सरकारले खानाको व्यवस्था नगरेपछि नवदुर्गा माविको क्वारेन्टाइनमा बुधबार कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका पुष्करनाथ ओझाले राती १ बजे पानी, चाउचाउ,चिउरा र बिस्कुट पठाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.