कालिकोटमा ७३४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
कालिकोट : जिल्लामा हालसम्म जम्मा ७ सय ३४ जनाको कोरोना शंकास्पदहरुको पीसीआर जाँच गरिएको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार शुक्रबारसम्म जिल्लाका ९ वटै स्थानीय तहबाट स्वाब संकलन गरी जम्मा ७ सय ३४ जनाको पीसीआर जाँच गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार विदेशबाट आएका तथा शंकास्पद ठाँउबाट आएकाहरुलाई लक्षित गरी जिल्लाका ९ वटै स्थानीय तहबाट स्वाब संकलन गरी पीसीआर जाँच गरिएको हो। परिक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ। उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा १ सय १० जना, रास्कोट नगरपालिकामा ९४ जना, तिलागुफा नगरपालिकामा ७५ जना, पलाँता गाउँपालिकामा ३३ जना, पचालझरना गाउँपालिकामा १ सय जना, सान्नीत्रिवेणी गाउँपालिकामा ८६ जना, नरहरीनाथ गाउँपालिकामा ८३ जना, शुभकालिका गाउँपालिकामा ८२ जना र महाँवै गाउँपालिकामा ७१ जनाको स्वाब संकलन गरी पीसीआर जाँच गरिएको छ। जसमध्य ६ सय ५३ जना जिल्लाका ९ वटै स्थानिय तहका ८२ वटा वडाबाट नमुनाका रुपमा स्वाब संकलन गरी परिक्षण गरिएको हो भने ८१ जना बिदेशबाट आएका क्वारेन्टाईनमा राखेका मानिसहरुको पीसीआर जाँच गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतका अनुसार जिल्लामा ५ सय १ जनाको र्यापिड टेस्ट गरिएको छ। ती सबैको पनि रिपोर्ट नेगेटिभ आएको छ। उनका अनुसार जिल्लाको खाँडाचक्र नगरपालिकामा ६०, रास्कोट नगरपालिकामा ८२, तिलागुफा नगरपालिकामा ३०, पलाँता गाउँपालिकामा १६, पचालझरना गाउँपालिकामा ५१, सान्नीत्रिवेणी गाउँपालिकामा ५१, नरहरीनाथ गाउँपालिकामा ७३, शुभकालिका गाउँपालिकामा ५० र महाँवै गाउँपालिकामा ८८ जनाको र्यापिड टेस्ट गरिएको छ।
परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म कालिकोट कोरोना मुक्त जिल्ला रहेको प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए। उनले भने, 'हामीले विदेशबाट फर्किएका र संक्रमित पहिचान भएको ठाउँबाट फर्किएका मानिसहरुलाई लक्षित गरी जिल्लाभरबाट नमुना स्वाब संकलन गरि परिक्षण गरिसकेका छौं। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि जिल्ला कोरोना मुक्ता रहेको हाम्रो दाबी हो।' तर पछिल्लो समय जिल्लामा रोजगारीका लागि भारतबाट फर्किन थालेका छन्। उनीहरुबाट कोरोना भित्रिने त्रास छ। शुक्रबारसम्म मात्र ८५ जना भारतबाट फर्किएका छन्। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिसकेका छौँ। अझै तीन हजार बराबर मानिसहरु भारतबाट फर्किने अनुमान छ। ती सबैलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने तयारी थालिएको छ।