झुलाघाट नाकाबाट तीन सय ७८ जनाको उद्दार
बैतडी : भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई शुक्रबार सीमा नाका झुलाघाटबाट उद्दार गरिएको छ। चारजना किरियापुत्रीसहित ३७८ जनाको सीमा नाका झुलाघाटबाट उद्दार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
भारतका विभिन्न स्थानबाट आएर झुलाघाट तथा पिथौरागढ रोकिएका नेपालीको सीमा नाकाबाट उद्दार गरिएको हो। बैतडीका १६२, बझाङका एक सय, बाजुराका ३०, अछामका ३, डडेलधुराका ५, दार्चुलाका ११ र कञ्चनपुरका ६ जनासहित १२ जिल्लाका नागरिक शुक्रबार स्वदेश आएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।
‘नेपाल र भारतका स्थानीय प्रशासनहरुबीच सहमति भए अनुसार एक दिनका लागि नाका खोलेर नेपाली नागरिकहरुको उद्धार गरिएको हो’, उनले भने, ‘यो नाकाबाट ११ जना भारतीय पनि आफ्नो देश फर्केका छन्।’
सीमा नाकामा समान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो। सीमा नाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित पालिकामा पठाइएको नेगीले बताए।
बिना परीक्षण सीमा नाकाबाट नेपाली आउने क्रम जारी रहेकाले कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। भारतबाट फर्केका नागरिकको कोरोना परीक्षणको उचित व्यवस्था हुन सकेको छैन्। जिल्लामा आरडीटी कीटको समेत अभाव छ भने पीसीआर परीक्षणको लागि समेत पहल हुन सकेको छैन्।
यसअघि गत वैशाख १८ गते पनि झुलाघाट नाकाबाट नेपालीहरुको उद्दार गरिएको थियो।