कर्णालीका मन्त्री र सांसदको रिपोर्ट नेगेटिभ
सुर्खेत : कर्णाली प्रदेशका मन्त्री र सांसदको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश सभाको बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला मन्त्री, सांसद र संसद सचिवालयका कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो। बिहीबार स्वाब संकलन गरिएका सबै एक सय ६५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो।
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदैछ। संसद बैठक बस्नुअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सरकारका सबै मन्त्री, सभामुख राजबहादुर शाही, सांसद, संसद सचिवालयका कर्मचारी र मर्यादापालकको कोरोना परीक्षण गरिएको हो। जसमा शुक्रबार सबै जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
उनीहरु सबैको सुर्खेतमै पीसीआर विधिबाट परीक्षण गरिएको थियो। रिपोर्ट नेगेटिभ आएसँगै अब संसद बैठक बस्न पनि सहज भएको संसद सचिवालयले जनाएको छ। ‘सबै मन्त्री र सांसदको रिपोर्ट नेगेटिभ आएको छ, अब उहाँहरु ढुक्कले संसद बैठकमा सहभागी हुन सक्नुहुन्छ’ प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाका संयोजक ओम आचार्यले भने, ‘यो स्वाब संकलन गर्दासम्म उहाँहरु कोरोनामुक्त हुनुहुन्छ भन्ने प्रमाण हो।’
प्रदेशसभाको बजेट अधिवेशनमा सहभागी हुने मन्त्री, सांसद, मर्यादापालक, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र चालकसहित एक सय ६५ जनाको नमुना परीक्षण गरिएको थियो। प्रदेशसभाको बजेट अधिवेशनमा सहभागीहरुले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ।
यस्तै कोरोना परीक्षणको रिपोर्ट देखाएर मात्र बैठकमा प्रवेश दिइनेछ। कोरोना त्रासका कारण यसअघि दर्शकका लागि व्यवस्था गरिएको स्थानसम्मै सांसद बस्नेगरी सामाजिक दूरी कायम गरिएको छ।