क्वारेन्टाइन होइन होल्डिङ सेन्टर

क्वारेन्टाइन होइन होल्डिङ सेन्टर

झापा : दुर्गम भेगमा बनाइएका क्वारेन्टाइन मापदण्डअनुसारका छैनन्। अधिकांश विद्यालयमा बेन्च जोडेर बेड बनाइएको छ। ३०–४० जना बस्ने क्वारेन्टाइनमा एउटा मात्र शौचालय छ। अर्कोतिर अनधिकृत तवरले भारतबाट छिर्नेको लर्र्को छ। बिहीबार मध्याह्नसम्ममा ८ सय नेपाली भित्रिएका छन्।

३३ जना संक्रमण देखिएको कचनकवलमा गाउँपालिकाले बनाएका क्वारेन्टाइन सबै सामुदायिक विद्यालयमा छन्। गौरीगन्ज, झापा गाउँपालिकाका क्वारेन्टाइन पनि विद्यालयमै बनाइएको छ। कचनकवलमा संक्रमितसहित ३३ जना पथरिया माविको क्वारेन्टाइनमा बसेका थिए। उक्त गाउँपालिकामा पछिल्ला ४ दिनमा २ सय जना नेपाल प्रवेश गरेका छन्। यो क्रम जारी नै छ।

‘गाउँपालिकाको बजेटले मात्र क्वारेन्टाइन व्यवस्थित गर्न सकिँदैन। क्वारेन्टाइन व्यवस्थापनमा चुनौती बढ्दो छ’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र कति गर्ने ?  सक्नेसम्म गरेका छौं।’

विद्यालयमा पछिल्लो समय बनाइएका क्वारेन्टाइन व्यवस्थित छैनन्। ‘होल्डिङ सेन्टर’ भन्न थालिएका क्वारेन्टाइनमा बसेकाहरूलाई १५ दिनसम्म राख्ने गरिएको छ। संक्रमित भेटिएका सबैसहित अन्य पछि आएका समूहलाई पनि एउटै कोठामा १० देखि १५ जनासम्म राखिएको छ। खाना सामूहिक रूपमै खुवाउने गरिएको छ। एकै पटक सबै खान लाग्दा बिहेको भोजजत्तिकै हुन्छ।

‘क्वारेन्टाइनमा बस्ने व्यक्ति पनि अनुशासित नहुँदा समस्या आउने रैछ’, उपाध्यक्ष राजवंशीले भनिन्, ‘पालिकामा पहुँच र क्षमताले भ्याएसम्म बनाइएका क्वारेन्टाइन छन्। भारतबाट आउनेको लर्को छ। मापदण्ड खोज्नु पनि आपैmंमा मूर्खता हो कि जस्तो लाग्न थाल्यो। अब त भारतबाट आएका नेपालीलाई खाना र छानोमुनि सुरक्षित तवरले राख्न सक्नु ठूलो कुरा हो।’

क्वारेन्टाइनलाई होल्डिङ सेन्टर भन्ने बेला आएको उनको भनाइ छ। ‘क्वारेन्टाइन भन्दा मात्र पनि त्यसको मापदण्ड पूरा गर्नुपर्ने रैछ। त्यो हाम्रो क्षमताले भ्याउँदैन’, उनले भनिन्, ‘हामीसँग जति क्षमता छ त्यति नै गरेका छौं।’

क्वारेन्टाइनमै संक्रमण सर्ने खतरा छ। त्यसैले पनि उक्त माविमा रहेका सबैको स्वाब नमुना पठाइएको उनले बताइन्।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार क्वारेन्टाइन बनाउन स्थान पाउन गाह्रो छ। ठाउँ पाए त्यसलाई मापदण्डअनुसार व्यवस्थापन गर्न मुस्किल छ। ‘त्यसैले पछिल्लो समय होल्डिङ सेन्टरतर्पm फोकस गरेका छौं’, उनले भने।

भारतका सीमा नाकामा रहेका नेपालीलाई ल्याएर राख्न झापामा ९ सय ५० बेड क्षमताको क्वारेन्टाइन तयार पारिएको छ। यसलाई होल्डिङ सेन्टर भन्न थालिएको छ। यसअन्तर्गत भद्रपुरको मेची क्याम्पसमा ३ सय, कलवलगुरीमा १ सय, बिर्तामोडको कञ्चनजंघा हेल्थ इन्स्टिच्युटमा २ सय, शिवसताक्षीको आदर्श माविमा १ सय ५०, मदन भण्डारी र मानसरोवर गरेर २ सय बेड तयार पारिएको छ।

‘भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएका नेपालीलाई उद्धार गरेर होल्डिङ सेन्टरमा राखेका छौं’, जिसस प्रमुख पोर्तेलले भने, ‘अवैधानिक बाटोबाट आइरहेका नेपालीलाई झापाको हकमा उनीहरूलाई सम्बन्धित पालिकाहरूमा पठाइदिने र बाहिरका भए होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि सम्बन्धित प्रदेश वा जिल्लामा पठाउनेछौं।’

विषम परिस्थतिमा जे जस्तो उपलब्ध स्रोत र साधन छ त्यसमा दूरी कायम गरेर व्यवस्थापन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। ‘विद्यालयमा बनाइएका क्वारेन्टाइन कतिपयले मापदण्ड पूरा गरेका छैनन्’, उनले भने, ‘तर, अब त्यत्तिको पनि हामीलाई उपलब्ध हुन गाह्रो छ। ’

झापामा २९ वटा क्वारेन्टाइन तयार छन् र थप गर्ने काम भइरहेको छ। जसमा तत्काल १ हजार जनालाई राख्न सकिन्छ। मेची अस्पताल र दमक अस्पतालमा गरी दुई ठाउँमा आइसोलेसन वार्ड छन्। जहाँ २ जना बिरामी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.