बैतडीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना
बैतडी : बैतडीका कोरोना संक्रमित युवालाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । शुक्रबार साँझ ती युवकलाई जिल्ला प्रहरी कार्यालयबाट ल्याएर अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए ।
शिवनाथ गाउँपालिका -२ का २२ वर्षीय पुरुषमा प्रहरी हिरासतमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएपछि सुरक्षाकर्मीको निगरानीमा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो । संक्रमित युवकको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा. जोशीले बताए । उनले भने ‘संक्रमित युवाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । केही समस्या आएमा हामीले अन्यत्र लैजान सकिने गरेर व्यवस्था मिलाएका छौं ।’
संक्रमित युवकसँगै हिरासतमा रहेकी उनकी बहिनीलाई पनि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको डा. जोशीले बताए । शिवनाथ गाउँपालिका ४ की १९ वर्षीय गीता महरको मृत्यु प्रकरणमा दुवै जना वैशाख १५ गते पक्राउ परेका थिए । गीताका आफन्तहरुले दिएको किटानी जाहेरीअनुसार उनीहरुलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको थ्रोट स्वाब संकलन
बैतडीमा थुनामा रहेका एकजना युवकमा कोरोना संक्रमण भेटिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका प्रहरी र अन्यको थ्रोट स्वाब संकलन गरिने भएको छ । प्रहरी हिरासतमा रहेका युवकमा कोरोना पोजिटिभ देखिएपछि शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ । संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।
कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको शनिबार थ्रोट स्वाब संकलन गरिने उनले बताए । पहिलो चरणमा संक्रमित युवकसँग बढी सम्पर्कमा रहेका व्यक्तिहरुको थ्रोट स्वाब संकलनको तयारी भएको हो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी , संक्रमित युवकको घरका मानिस र अन्य सम्पर्कमा आएका व्यक्तिहरुको पहिलो चरणमा थ्रोट स्वाब संकलन गरिनेछ । उनीहरुको स्वाब परीक्षणका लागि धनगढी पठाइने डा. जोशीले बताए । जिल्लामा पहिलो संक्रमित भेटिएपछि कोरोनाको त्रास पनि बढेको छ ।